आन्दोलनलाई नेतृत्व दिन दलहरुलाई आग्रह

1.3K

आन्दोलनलाई नेतृत्व दिन दलहरुलाई आग्रह

chadani

बुटवल, १७ मंसिर । पाँच नम्बर प्रदेशमा रहेका पहाडी जिल्लाहरुलाई अलग्याउनेगरी सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्ताव विरुद्ध बुटवलमा सुरु भएको आन्दोलन अराजक बन्दैगएकोमा सञ्चार सम्वद्ध व्यक्तिहरुले चिन्ता प्रकट गरेका छन् ।

उनीहरुले आन्दोलन नेतृत्व विहिन हुँदा अराजकता तथा भड्कावको स्थिती पनि आउन सक्ने भन्दै कुनै न कुनै आवरणमा दलकै आन्दोलन भएकाले आन्दोलनलाई नेतृत्व लिँदै आन्दोलनबाट सिर्जित परिस्थितीको जिम्मेवारी पनि दलहरुलाई आग्रह गरेका हुन् । दलहरुको धारणा एउटै हो भने दलहरु बसेर आन्दोलनका बारेमा नेतृत्व लिनेगरी छलफल गर्न उनीहरुले सुझाव दिएका छन् ।

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग्याउने गरी सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्तावका कारण रुपन्देहीमा विकसित भएको पछिल्लो घटनाक्रमलाई सहि बाटोमा ल्याउन के गर्न सकिन्छ भन्ने विषयमा चाँदनी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले आन्दोलन नेतृत्व विहिन भएकोमा चिन्ता व्यक्त गरेका हुन् ।

उनीहरुले एकातिर पत्रकार पत्रकारको भूमिकामा रहनुपर्ने र अर्कोतर्फ नेतृत्व विहिन आन्दोलनको फेर्नेगरी समाचार लेख्नुपर्ने बताउँदै त्यसकालागि प्रशासनले पनि आन्दोलनलाई ट्रयाकमा ल्याउन भूमिका खेल्न सुझाव दिए । पछिल्लो विकसित घटनाक्रमले दलीय ध्रुवीकरण बढाउने काम गरेको बताउँदै उनीहरुले द्वन्द्व घटाउने तर्फ पत्रकारले पुलको काम गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा बुटवलमा सञ्चालित पत्रिका तथा रेडियो र टेलिभिजनका स्टेशन म्यानेजर तथा सम्पादकहरुको सहभागिता थियो । कार्यक्रममा बोल्दै ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद भण्डारीले पत्रकारहरुले दिएका सुझाव सकारात्मक रहेको र त्यसकालागि आफूले पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा दैनिक पत्रका प्रधान सम्पादक बालकृष्ण चापागाईले सिर्जित अवस्थालाई सेफल्याण्डिङ् गर्न स्थानीय प्रशासन र मिडियाको भूमिका महत्वपूर्ण हुने बताउँदै सहि रोल खेल्न आम पत्रकारलाई आग्रह गर्नुभयो ।

त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीले पत्रकारले आफ्नो भूमिका के हो भनेर बुझ्न जरुरी रहेको बताउनु भयो । आन्दोलन अराजकता तर्फ अँघि बढेको बताउँदै उहाँले पत्रकारले आन्दोलनको रुप फेर्नेगरी समाचार लेख्नुपर्ने धारणा राख्नुभयो । पत्रकारले रिपोर्टिङ् गर्दा पहिले आफू सुरक्षित हुनुपर्ने बताउँदै सबैभन्दा पहिले आफ्नो सुरक्षामा ध्यान दिन पत्रकारलाई आग्रह गर्नुभयो ।

त्यस्तै बुटवल एफएमका कार्यकारी निर्देशक माधव नेपालले सिर्जित परिस्थितलाई सुधार गर्नकालागि राजनीतिक दलहरुको भूमिका हुने भएकाले दलहरु गम्भिर हुनुपर्ने बताउनु भयो । उहाँले जस जति आफूले लिने र अपजस जति अरुलाई पन्छ्याउने काम गर्न नहुने भन्दै जस अपजस आफैले लिनेगरी आन्दोलनको नेतृत्व लिन दलहरुलाई आग्रह गर्नुभयो । उहाँले सत्य समाचारमा नचुक्न पनि पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

चाँदनी नेपाल रुपन्देहीका अध्यक्ष भवानीप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बुद्ध टिभिका कार्यकारी प्रमुख बिष्णु भुसाल, बुटवल टुडेका प्रवन्ध निर्देशक नवराज कुवँर, मेचिकालीका सहसम्पादक अमृत गिरी लगायतले धारणा राख्नुभएको थियो ।

बिहीबार नेतृत्व बिहिन आन्दोलनका कारण अस्पताल लाईनमा रहेको माओवादी केन्द्रको सहिद स्मारक तोडफोड हुनुका साथै प्रहरीसंग झडप समेत भएको थियो । उक्त तोडफोडमा आफूहरुको संलग्नता नभएको भन्दै एमाले र काँग्रेसले विज्ञप्ती निकालिसकेका छन् भने माओवादी केन्द्रले आपत्ति जनाएको छ ।