बुटवलमा कांग्रेस, एमाले र माओवादीका नेताले के भने ?

365

बुटवलमा कांग्रेस, एमाले र माओवादीका नेताले के भने ?

butwal-bhela

कुनैपनि हालतमा विधयेक पास हुँदैन : गौतम

संशोधन विधयेक कस्कालागि हो ? : रायमाझी

पाँच नंम्बर प्रदेशमा आउन प्रम दाहाललाई चुनौती :पौडेल

संविधान कार्यान्वयनमा समस्या भए जनमत संग्रहमा आऔं : भण्डारी

बुटवल, १७ मंसिर । सरकारले ल्याएको संविधान संशोधन विध्येकको बिरोधमा संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपछि दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले कुनै पनि हालतमा उक्त विध्येक पास हुन नसक्ने बताउनु भएको छ ।

उक्त विध्येक संवैधानिक पनि नभएको र जनताको मनाकांक्षा विपरित भएकाले आफूहरुले त्यसको बिरोध गरेको बताउनु भयो । सरकारले उक्त विध्येक संसदमा दर्ता गराएपछि पाँच नंम्बर प्रदेशमा शुरु भएको आन्दोलनलाई बुटवलमा सम्बोधन गर्दै एमालेले उक्त विध्येकको बिरोधमा सदन र सडकबाटै आन्दोलन सुरु गरेको बताउनु भयो ।

उक्त विध्येकको बिरोधमा रुपन्देहीमा बिभिन्न दलले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले कसैको ईशारामा ल्याएको उक्त विध्येक कुनै पनि हालतमा पास हुन नदिने जिकिर गर्नुपर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा बोल्दै सत्ताको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले पाँच नम्बर प्रदेशका जनताले माग्दै नमागेको उक्त संशोधन प्रस्ताव कस्कालागि भएको भन्दै सरकारलाई प्रश्न गर्नुभयो । उहाँले आफ्नो पार्टीले उक्त प्रस्तावको पक्ष विपक्षमा निर्णय नलिईसकेकाले उक्त प्रस्तावलाई माओवादीले ल्याएको भन्न नहुने बताउनु भयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तर्फ लक्षित गर्दै उक्त विध्येक कुनै पनि हालतमा पास हुन नदिने चेतावनी दिनुभयो । यहाँका जनताले नमागेको कुरा पुर्व पश्चिमका कसैले मागेर पुरा हुन नसक्ने उहाँको भनाई थियो ।

त्यस्तैगरी एमालेका उपमहासचिव विष्णु पौडेलले पाँच नम्बर प्रदेशका जनताले माग्दै नमागेको पहाडी जिल्लालाई अलग्याउने गरी संविधान संशोधनको प्रस्ताव ल्याएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पाँच नम्बर प्रदेशमा आएर जनताको भावना बुझ्न चुनौति दिनुभयो । उहाँले सामाजिक सांस्कृतिक एकताको सञ्जालमा बाँधिएका पाँच नम्बर प्रदेशका जनताको भावना विपरित सरकारले संशोधन विध्येक ल्याउनु गम्भिर त्रुटि भएकाले तत्काल सच्याउन आग्रह गर्नुभयो ।

उहाँले सरकारले उक्त संशोधन विध्येक फिर्ता नलिँदा सम्म आफूहरुको संयुक्त संघर्षका कार्यक्रम जारी रहने बताउँदै त्यसमा संयमताकासाथ सहभागि हुनकालागि आम नागरिकलाई आह्वान गर्नुभयो ।

त्यस्तैगरी सत्तारुढ दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले संविधान कार्यान्वयनमा समस्या भए जनमत संग्रहमा जान सकिने बताउनु भयो । उहाँले जनताको भावना विपरित संविधान संशोधन विध्येक ल्याएकाले सरकारको नभई आफू उक्त प्रस्तावको विपक्षमा उभिएको बताउनु भयो । पार्टी राजनीतिमा पार्टीले लिएको निर्णय विरुद्ध उभिदा आफूलाई पार्टीले कारवाही गरेपनि त्यसको कत्ति प्रवाह नगरेर जनताको जीतकालागि आफू आन्दोलनमा होमिएको बताउनु भयो ।

उक्त अगुवा कार्यकर्ता भेला पछि बुटवलमा निकालिएको बिशाल बिरोध जुलुसमा उहाँहरु सहभागि हुनु भएको छ । उक्त जुलुस ट्राफिकचोकमा पुगेर कोण सभामा परिणत हुने र उक्त कोण सभामा पनि उहाहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताउनु भयो । यद्यपी सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्र र सत्तारुढ दल नेपाली काँग्रेस भने औपचारिक रुपमा सहभागि भएका छैनन् ।