सैनामैना नगरपालिकामा तालावन्दी

1.5K

सैनामैना नगरपालिकामा तालावन्दी

sainamaina-nagarpalikaललित पाण्डेय/
सैनामैना, १८ मंसिर । यहाँ क्रियाशिल राजनीतिक दलहरुले सैनामैना नगरपालिकालाई गाउपालिका बनाउने षडयन्त्र भएको भन्दै नगरपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिदिएका छन् ।

स्थानीय राजनैतिक दलका नेता तथा स्थानीयको संयुक्त आयोजनामा आज देखि माग पुरा नहुदा सम्मका लागि तालाबन्दी गरिएको नगर विकास समितिका अध्यक्ष डिल्लीराज ज्ञवालीले बताउनु भयो । दुई वर्ष अगाडि साविक पर्रोहा र दुधराक्ष गाविसलाई मिलाएर सैनामैना नगरपालिका बनाईएको थियो ।

स्थानीय तह पुर्न संरचना प्राविधिक सहयोग समितिबाट यही मंसिर १६ मा निर्णय भई आयोगबाट नगरपालिकालाई २ दिनमा रिपोर्ट अन्तिम पुनराबलोकन लागि पत्र आएको थियो । उक्त पत्रमा सैनामैना नगरपालिकामा २०६८ सालको जनगणना बमोजिम जनसङ्ख्याको मापदण्ड पुरा नभएकोले २०६८ सालको जनगणनाको आधारमा जनसङ्ख्या सहितको वडा विभाजन गरी पुनः प्रस्ताव गर्ने भनी पत्र आएको छ ।

उक्त पत्रप्रति आपत्ति जनाउदै दवावका लागि तालाबन्दी गरिएको नेपाली काङ्ग्रेस सैनामैना नगर सभापति रामप्रसाद अधिकारीले बताउनु भयो । स्थानीय पुर्नसंरचना सङ्ख्या र सीमा निर्धारण आयोग जिल्ला स्थित प्राविधिक समिति मार्फत यस भन्दा अगाडि पनि सैनामैना नगरपालिका बनाउन भनी राजनैतिक दलहरुले केन्द्रमा पुगेर ज्ञापन पत्र बुझाई सकेका छन् ।

एउटा समृद्ध र सम्पूर्ण मापदण्ड पुगेको सैनामैना नगरपालिकालाई कायम गर्न गरिएको सिफरिसलाई नजर अन्दाज गरि सैनामैना नगरपालिका पुनः गाउपालिकामा फर्काउन जिल्लाका नेतृत्व पंक्तिमा रहेका नेता र प्राविधिक समिति लागि परिरहेको नेकपा एमाले जिल्ला सदस्य तथा सैनामैना नगर कमिटि इन्चार्ज चित्रबहादुर केसीले बताउनु भयो ।

त्यस्तै सैनामैना नगरपालिकाको जनसङ्ख्यालाई मात्र मापदण्डको आधारमा गाउपालिका बनाउने षडयन्त्र भइरहेको बताउँदै नगरपलिकाले प्राप्त गरेका उपलब्धिहरु गुम्न लागेकोले सबै मिलेर सङ्घर्षको मैदानमा उत्रीएको नेपाली काँग्रेस नगर सभापति अधिकारी बताउनु हुन्छ । माओवादी केन्द्रका जिल्ला सदस्य तथा नगर इन्चार्ज नारायण न्यौपानेले सैनामैना नगरपालिकालाई गाउपालिका बनाउन चलखेल भएकाले कार्यलयमा तालावन्दी गरिएको र नगरपालिका नहुदासम्म तालावन्दी नखोलिने जिकिर गर्नुभयो ।

नगरपालिकाको कार्यालयमा तालावन्दी गरेपछि नगरमा क्रियाशिल राजनीतिक दलका प्रतिनिधि तथा नागरिक अगुवाहरुको नेतृत्वमा आज आईतबार जिल्ला विकास कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरिएको छ । सैनामैना नगरपालिकामा २०६८ को जनगणना अनुसार ४५ हजार जनसङ्ख्या रहेकोमा अहिले ५५ हजार पुगिसकेको तथ्याङ्क नगरपालिकामा रहेको छ ।

यस भन्दा अगाडि समृद्ध सैनामैना नगरपालिका बनाउन भौगोलिक संरचना र जनसङ्ख्या मिलाउन सालझण्डी, गजेडी, सुर्यपुराका १ र २ वडा, मानपकडीका २ र ७ , ख बनगाईका ३, ४ र ९ वडा का राजनैतिक दल तथा सर्वपक्षिय भेलाले पारित गरी जिल्लामा डेलिकेशन पनि गइसकेको थियो ।