तपाईको पैसा कुनैपनि बेला चोरी हुनसक्छ !

426

तपाईको पैसा कुनैपनि बेला चोरी हुनसक्छ !

atm

अच्युत रेग्मी/

काठमाडौँ, १९ मङ्सिर । तपाई बैँकमा पैसा राखेर ढुक्क हुनुहुन्छ ? होस् गर्नुहोस् तपाईको पैसा कुनैपनि बेला चोरी हुनसक्छ । पछिल्लो समय युरोपेली महादेशका विभिन्न मुलुकका व्यक्ति अत्याधुनिक उपकरण बोकेर नेपाल आउने र विभिन्न बैँकका एटिएमभित्र पसेर मोटो रकम निकाल्ने गरेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले एटिएम कार्ड प्रयोग गरी रकम निकाल्ने अधिकांश विदेशी आपराधिक पृष्ठभूमिका व्यक्ति भएको जनाएको छ । यो क्रम नेपालमा विस २०७१ मङ्सिरदेखि सुरु भएको हो । अत्याधुनिक उपकरण लिई पर्यटकीय भिसामा नेपाल आउने त्यस्ता व्यक्तिले जमल, असन, ठमेल, दरबारमार्गलगायतका क्षेत्रका विभिन्न बैँकका एटिएममा पसेर मोटो रकम निकाल्ने गरेको ब्यूरोले जनाएको छ ।

ब्यूरोले हालसम्म विभिन्न बैँकको एटिएमभित्र छिरेर मोटो रकम निकालेको आरोपमा तीन टर्केली, दुई बुल्गेरियाली र चार रोमानियालीसहित नौ युरोपेली नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोले पछिल्लो दुई महिनामा ६ जनालाई पक्राउ गरेकामा सबै आपराधिक पृष्ठभूमिका रहेको प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो ।

कात्तिक ११ गते ठमेलबाट पक्राउ परेका बुल्गेरियाली नागरिक डिमो एटानोशोभ स्टेफानो बुल्गेरियामा नै चोरी गरेको आरोपमा मुद्दा खेपिरहेका थिए । यस्तै कात्तिक १९ मा होटल नेपाल तारा ठमेलबाट पक्राउ परेका गीता हुजुम सन् २००७ मा लागु पदार्थ ओसारपसारमा दुई वर्ष ९ महिना जेल सजाय भोगेका व्यक्ति हुन् ।

सोही दिन पक्राउ परेका इसोफ मोरारु सन् २०१२ मा इटालीमा मानहानी मुद्दा खेपेका व्यक्ति हुन् भने एलेक्स क्रिष्टियान बुगुल्लान सन् १९९० मा रोमानियाँमा चोरीको आरोपमा तीन वर्ष ६ महिना जेल सजाय भोगेका व्यक्ति हुन् ।

यसैगरी कात्तिक २५ मा यलो प्यागोडा होटल जमलबाट पक्राउ परेका टर्केली नागरिक मुहारिम उजुम टर्कीमा प्रतिलिपि अधिकार उलङ्घनमा कारबाही परेका व्यक्ति हुन् भने सिलाटिन यावर अवैध हातहतियार, यौनजन्य हिंसा र सरकारी कागजत किर्तेमा जेल सजाय भोगेका व्यक्ति हुन् ।

ब्यूरोका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल बैँकिङ कसुरसम्बन्धी कानुन नेपालमा कमजोर भएकाले यस्तो घटना मौलाउँदै गएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अरु मुलुकमा पाँचदेखि सात मिनेटभन्दा बढी एटिएम कार्डभित्र अल्मलिए बैँकले निगरानी गर्छ तर नेपालमा निगरानी नहँुदा यस्ता घटना बढ्दै गएका हुन् ।”

उहाँले नेपालको एटिएम संरचना कमजोर र बैँकले बेवास्ता गरेका कारण रकम चोरी हुने गरेको बताउनुभयो । त्यस्ता व्यक्तिबाट नेपाली, यूरो, अमेरिकन, फिलिपिनोलगायत रु एक करोड भन्दा बढी रकम बरामद गरिएको ब्यूरोले जनाएको छ ।

ती व्यक्तिबाट विभिन्न कम्पनीको ल्यापटप, मोबाइल फोन, पेनड्राइभ समेत फेला पारेको छ । नेपाली बैँकका खातावालाको रकम नेपाल र भारतका एटिएम बुथबाट मात्र निकाल्न सकिने हुनाले नेपाली बैँकका खातावालको डाटा चोरी गरी नेपालबाटै रकम निकाल्न सकिने हुँदा उक्त समूह नेपालमा सक्रिय रहेको ब्यूरोले जनाएको छ । पक्राउ गरिएका अभियुक्तलाई बैँकिङ कसुर ऐन २०६४ बमोजिम कारबाही गरिएको छ । रासस