
बुटवल, १९ मंसिर । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा यही मंसिर २३ गतेदेखि पुष ४ गतेसम्म मंगलापुरमा आयोजना हुने प्रथम राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रर्वद्धन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
मेला तथा महोत्सवको तयारीका क्रममा मेलास्थलमा स्टल, मञ्च, स्वागतद्धार, वाल उद्यान्न निर्माण लगायतका काम सकिएका छन । साढे २ सय बढी स्टल दर्ता भएका छन । मेलामा बिभिन्न प्रतियोगिता सहितका सांस्कृतिक कार्यक्रम, पर्यटन तथा व्यापार प्रवद्र्धन सम्वन्धि अन्र्तक्रिया लगायतका कार्यक्रम तय गरिएको छ ।
यसैबिच मेलाको तयारी, व्यवस्थापन र सञ्चालनका सम्वन्धमा संघले आज आइतवार तिलोत्तमामा क्रियाशिल राजनीतिक दलहरुसंग संयुक्त बैठक गरेको छ । बैठकमा सहभागि राजनीतिक दलका नेताहरुले मेला तिलोत्तमा नगरपालिकाको प्रतिष्ठा संग जोडिएकाले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
उनीहरुले सरकारले ५ नम्वर प्रदेशको सीमा हेरफेर गर्ने गरी संसदमा संबिधान संशोधन प्रस्ताव दर्ता गरेपछी यस क्षेत्रमा भएको आन्दोलनले मेलालाई असर पर्ने भए आन्दोलनको स्वरुप परिवर्तन गर्न राजनीतिक दलका जिल्ला नेतृत्व र संयुक्त संघर्ष समितिसंग पहल गर्ने निणर्य गरेका छन । बैठकमा दलका नेताहरुले मेलाका अवसरमा तिलोत्तमामा बन्द हडताल जस्ता कार्यक्रम नगर्ने पुरानो प्रतिबद्धतामा अडिग रहेपनि बदलिदो परिस्थितिमा सबैसंग समन्वय गर्नु पर्ने भएकाले जिल्ला नेतृत्वसंग छलफल गरेर अघि बढने बताएका थिए ।
बैठकमा संघका अध्यक्ष गुणनिधि भण्डारी र महासचिव माधवलाल देवकोटाले अहिलेसम्म भएका तयारी र मेलामा राखिने स्टल तथा कार्यक्रमहरुका सम्वन्धमा जानकारी गराउनु भएको थियो । त्यस अवसरमा नेपाली कांग्रेसका जिल्ला सदस्य तथा प्रतिनिधि कृष्ण बहादुर गौतम, नेकपा एमालेका जिल्ला सदस्य तथा प्रतिनिधि श्याम खरेल, नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधि हेमन्त पाण्डे, जनमुक्ति पार्टीका नगर अध्यक्ष राजु राना लगायतले मेलाको सफलताका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।