ओलीलाई ३२३ को प्रतिबद्धता

412

ओलीलाई ३२३ को प्रतिबद्धता

kp-oli2

काठमाडौं: उग्र वामको बिल्ला भिरेको एमाओवादीको प्रस्ताव र हिन्दु राष्ट्र तथा राजतन्त्रवादी राप्रपा नेपालको समर्थनमा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पदका बलिया उम्मेदवार बनेका छन्।
आइतबार हुने निर्वाचनमा बहालवाला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका अध्यक्ष सुशील कोइराला र एमाले अध्यक्ष ओलीले शनिबार संसद् सचिवालयमा उम्मेदवारी दर्ता गरेका हुन्।
अन्तिम समयमा राजनीतिक समीकरणमा चमत्कारपूर्ण परिवर्तन र अवज्ञा नभएमा ओलीका पक्षमा ३२९ सदस्यहरूले समर्थन जनाएका छन् । सभामुखसहित ५९८ सदस्य रहेको संसद्मा प्रधानमन्त्री निर्वाचित हुन कम्तीमा २९९ मत आवश्यक पर्छ।
स्पष्ट रूपमा देखापरेका समीकरणका अनुसार ओलीका पक्षमा एमालेका १८३, एमाओवादीका ८३ र राप्रपा नेपालका २५ सहित बाँकी ३८ वाम समूह र साना दलहरूका सदस्यको समर्थन छ। कोइरालाको पक्षमा अहिलेसम्म कांग्रेसका २०७ को समर्थन छ भने संविधानसभाको प्रक्रिया बहिष्कार गर्दै आएका दुई मधेसी मोर्चाका ५३ सदस्यसमेत उनको पक्षमा जाने सम्भावना छ।
अहिलेको समीकरणमा पार्टी नेतृत्वले लिएका निर्णयविरुद्ध एमाओवादी, राप्रपा नेपाल र नेपाली कांग्रेसभित्र पनि केही विरोधका स्वरहरू अभिव्यक्त भएका छन् । तर पनि उनीहरूले पार्टीविपरीत मतदान दिने कुनै संकेत दिएका छैनन्।
वरिष्ठ नेता शेरबहादुर देउवाको प्रस्ताव र पार्टीकै उपसभापति रामचन्द्र पौडेलको समर्थनमा कोइराला मैदानमा उत्रिएका छन्। आफ्नै दलका केही नेता र सभासद्को असन्तुष्टिबीच उम्मेदवारी दिएका कोइरालाका पक्षमा शनिबार रातिसम्म अन्य कुनै दलले समर्थन जनाएका छैनन्।
ओलीको प्रस्तावकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल छन् भने राप्रपा नेपालका अध्यक्ष थापासहित साना १४ दल र एक स्वतन्त्र सभासद्ले समर्थन जनाएका छन्।
राप्रपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक), बहुजन शक्ति पार्टी, समाजवादी जनता पार्टी, नेपाली जनता दल, नेपाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, अखण्ड नेपाल पार्टी, दलित जनजाति पार्टी नेपाल र स्वतन्त्र सभासद् अतहर कमाल मुसलमान ओलीको समर्थनमा छन्।
चार सिट भएको नेमकिपा र तीन सिट भएको नेकपा संयुक्तले पनि ओलीलाई समर्थन जनाउने एमाले प्रमुख सचेतक अग्नि खरेलले बताए। यी दुई दलसँगै ओलीका पक्षमा ३३० को समर्थन जुट्नेछ । तर सभामुख सुवास नेम्बाङले मतदानमा भाग नलिने भएकाले एक सिट घट्नेछ।
संविधान जारी भएपछि एमालेलाई नेतृत्व दिने भन्ने पूर्वसहमतिअनुसार कांग्रेसले आफूलाई समर्थन गर्ने ओलीले बताए। ‘अहिलेको आवश्यकता सहमति नै हो,’ उम्मेदवारी दर्तापछि ओलीले भने, ‘भद्र सहमतिअनुसार कांग्रेसले मलाई समर्थन गर्छ भन्ने मलाई विश्वास छ।’
संविधानको कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणका लागि राष्ट्रिय एकता आवश्यक रहेकोमा ओलीले जोड दिए। उम्मेदवारी दर्तापछि ओली, दाहाल र राप्रपा नेपालका अध्यक्ष थापाले हात मिलाएर अभिवादन गरेका थिए।
कोइराला भने आफ्नो दलको समर्थनमा मात्र उम्मेदवार बनेका छन्। ‘कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार मैले उम्मेदवारी दिएको हुँ,’ उम्मेदवारी दर्तापछि कोइरालाले भने, ‘यो कुनै अनौठो कुरा होइन, लोकतान्त्रिक प्रक्रिया हो।’
मतदानमा आफूले हारे ओलीलाई सहयोग गर्ने कोइरालाले बताए। ‘मैले जितें भने उहाँ (ओली) ले सहयोग गर्नुपर्छ, मैले हारें भने उहाँलाई सहयोग गर्छु,’ कोइरालाले भने । पुरानो भद्र सहमति तोडेर कोइरालाले उम्मेदवारी दिएको भन्दै कांग्रेसकै सभासद्हरू भने असन्तुष्ट छन्।