
भोलि देखि सुरु हुने मेलामा ५ लाख दर्शक र १५ करोड कारोवार हुने लक्ष्य
प्रविण गाहा/
बुटवल, २२ मंसिर । तिलोत्तमा उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा भोलि देखि मंगलापुरमा प्रथम राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रर्वद्धन महोत्सव सुरु हुदैछ । संघले आज मेला सचिवालय मंगलापुरमा पत्रकार सम्मेलन गरी मेलाको ९५ प्रतिशत तयारी सकिएको जनाएको छ ।
आर्थिक विकासका राष्ट्रिय आधार ः कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मुल नाराका साथ भोलि मंसिर २३ गते देखि पुस ४ गते सम्म मेला हुनेछ । मेलामा कृषि, पर्यटनलाई विशेष प्राथमिकता दिइएको संघका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक गुणनिधी भण्डारीले जानकारी गराउनुभयो ।
उहांले मेलाबाट नगरपालिका क्षेत्रमा रहेका उद्योग, व्यवसायको बजारिकरण गर्न मद्वत पुग्ने उल्लेख गर्नुभयो । तिलोत्तमा क्षेत्रमा पहिलो पटक मेला गर्न लागिएकोले यसलाई पृथक बनाउने प्रयास भएको संयोजक भण्डारीको भनाई छ । मेलामा शंकरनगर वनवाटिकाबाट जनावरहरु समेत लगेर अवलोकन गर्ने वातावरण मिलाइएको महासचिव माधवलाल देवकोटाले जानकारी गराउनुभयो ।

मेलामा थप आकर्षण थप्न रोबटबाट सामान ओसार पसारको व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा बताइएको छ । तीन सय स्टल रहेको मेलामा पांच लाख दर्शकले अवलोकन गरी १५ करोडको कारोवार गर्ने लक्ष्य लिएको कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । सर्वसाधारणलाई ३५ र विद्यार्थीको लागि २५ (परिचयपत्र अनिवार्य) रुपैयाको टिकटमा प्रवेशको व्यवस्था रहेको आयोजकले जनाएका छन् ।
मेलामा मंसिर २८ गते देखि १६ जिल्लाको क्षेत्रीय भलिवल आयोजना गरिने खेल संयोजक सुदिप कंडेलले जानकारी गराउनुभयो । त्यस्तै पेनाल्टी सुट फुटवलको समेत व्यवस्था गरिएको बताइएको छ । भलिवलको प्रथम पुरस्कार एक लाख रुपैया रहेको छ । मेलामा सांस्कृतिक कार्यक्रम अन्र्तगत डान्सिङ, सिङगिङ, विद्यालय स्तरीय नृत्य, लोक दोहोरी लगायतका कार्यक्रम गरिने सास्कृतिक संयोजक धन बहादुर गुरुङ्गले जनाकारी दिनुभयो ।
मेलामा ख्यातिप्राप्त हास्यकलाकार, चर्चित गायक, गायिकाले मनोरञ्जन प्रदान गर्ने संयोजक गुरुङ्गले जानकारी गराउनुभयो । डान्सिङ र सिङगिङको प्रथम पुरस्कार ५०/५० हजार रहने छ । लोक दोहोरी प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार रुपैया पुरस्कार रहेको छ ।

मेलाको उद्घाटन रक्षामन्त्रीबाट
भोलि देखि सुरु हुने मेलाको रक्षामन्त्री बालकृष्ण खांणले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । रुपन्देही क्षेत्र नं. ३ का सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्यले दिउसो एक बजे मेलाको उद्घाटन गर्नुहुने मेला संयोजक भण्डारीले जानकारी गराउनुभयो । मेला उद्घाटन अघि मणिग्राम र पत्थरडांडाबाट ¥याली निकालिने आयोजकले जनाएका छन् ।