मगर संघ संविधान संशोधनको पक्षमा

1.3K

मगर संघ संविधान संशोधनको पक्षमा

magar-sangh

बुटवल, २२ मंसिर । नेपाल मगर संघले संविधान संशोधन प्रस्ताव पारित गर्न माग गरेको छ । संघको केन्द्रीय कार्यक्रम अनुसार आज देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा संविधान संशोधन प्रस्ताव पारित गर्न माग गरिएको छ ।

नेपाल मगर संघ रुपन्देही अध्यक्ष गीता सारुको नेतृत्वमा गएको टोलीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिनोद प्रताप सिंह मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको हो । मंसिर १४ गते सरकारले राज्य पुर्नसंरचना सन्दर्भमा प्रस्तावित ४ नम्बर प्रदेश आंशिकरुपमा भएपनि मगरातबासीको भावनालाई सम्बोधन गरेकोले सकारात्मक लिएको संघले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

सबै मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनु पर्ने, राज्यको सबै निकायमा जातीय जनजनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पर्ने माग गरिएको छ । फेरि पनि विभिन्न बहानामा मगरात भूमिलाई चिरा गर्ने कार्य गरेमा मगरातबासी र समग्र मगर समुदाय सशक्त आन्दोलन गर्न बाध्य हुने यसबाट निर्माण हुने हरेक परिणामको जिम्मेवारी राज्य र ठूला राजनैतिक दलले लिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापन पत्र बुझाउदै संघका केन्द्रीय उपाध्यक्ष दलबहादुर वीरकट्टाले मगरात आन्दोलन, संशोधन प्रस्तावबारे नेपाल मगर संघको धारणा र भावि आन्दोलनबारे जानकारी गराउनु भयो ।

संघका रुपन्देही अध्यक्ष गीता सारुमगरको स्वागत र सचिव कमल थापामगरको धन्यवादमा भएको कार्यक्रममा मगर अगुवाहरुको सहभागीता रहेको थियो ।