
बुटवल, २२ मंसिर । प्रदेश नम्बर ५ मा रहेका पहाडी जिल्ला अन्य प्रदेशमा राख्नेगरी सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव विरुद्वको आन्दोलन अन्य जिल्लामा फिर्ता भएपनि गुल्मी र पाल्पामा अझ सशक्त भएको छ ।
मंसिर १४ गते सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन दर्ताको विरोधमा लुम्बिनी अंचल सहित प्युठान, रुकुम, रोल्पामा आन्दोलन चर्किएको छ । अर्घाखांची, कपिलवस्तु र रुपन्देहीमा वन्द, हडतालका कार्यक्रम केही समयको लागि स्थगित भएपनि गुल्मी र पाल्पामा अझ सशक्त बनाउने निर्णय भएको संघर्ष समितिले जनाएको छ ।
गुल्मीमा आज बसेको बैठकले मंसिर २४ गते सम्मको लागि आन्दोलनका कार्यक्रम तय गरेको छ । भोलि जिल्ला प्रशासन कार्यालय घेराउ अझ सशक्त बनाउने थाल बजाउने कार्यक्रम रहेको संयुक्त युवा परिचालन समितिका संयोजक भरत भलामीले जानकारी दिनुभयो ।
पर्सी २४ गते सदरमुकाम बाहिर विभिन्न आठ स्थानमा सभा गर्ने कार्यक्रम तय गरेको छ । साझ ५ बजे देखि विहान ६ बजे सम्मको लागि सवारी साधन तथा बजार खोल्ने गरिएको छ । परीक्षा संचालन भैरहेको हुदा शिक्षण संस्था बाहेक अन्य वन्दका कार्यक्रम यथावत रहेको युवा परिचालन समितिका संयोजक भलामीले जानकारी गराउनुभयो ।
त्यस्तै पाल्पामा पनि संविधान संशोधन प्रस्ताव फिर्ता नभए सम्म आन्दोलन जारी राख्दै संघर्षका कार्यक्रम थप सशक्त बनाउने संघर्ष समितिले जनाएको छ । मंसिर २५ गते पाल्पा सदरमुकाममा मानव साङलो बनाउनको लागि विभिन्न दललाई जिम्मेवारी प्रदान गरेको छ । पाल्पामा साझ ५ बजे देखि विहान ६ बजे सम्म वन्द खुल्ने गरेको छ ।