प्रविण गाहा/
बुटवल, २४ मंसिर । तपाईले मानसिक स्वास्थ्य समस्या भएकालाई देख्नु भएकै छ । नेपालमा कति होलान् मानसिक स्वास्थ्य समस्या भएका ? लाग्न सक्छ केही मात्र होलान् । कडा मानसिक समस्या लागेपछि उपचारमा जाने हुदा हामीलाई मानसिक स्वास्थ्य समस्या भएका केही मात्रामा छन् जस्तो लाग्न सक्छ । तर, हामीले अनुमान गरे भन्दा मानसिक स्वास्थ्य समस्या भएका धेरै छन् ।
मानसिक रोग विशेषज्ञ डा. मनोज ढुंगानाका अनुसार हरेक चार जना मध्य एक जनामा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या हुने गरेको छ । नेपालमा २५ प्रतिशत जनसंख्या मानसिक समस्या लिएर बसेका छन् । उनीहरुलाई मानसिक रुपमा अस्वस्थ भएको पनि पत्तो पाउदैनन् । नेपालमा हाल सरकारी आकंडा अनुसार करिव तीन करोड जनसंख्या रहेको अनुमान छ । नेपालमा करिव ७५ लाख जनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या हुने गरेको छ ।
तर, हाल देशभरका विभिन्न अस्पतालमा ८६ जना मानसिक रोग चिकित्सक रहेका छन् । राजधानीमा एउटा मानसिक समस्या रहेकालाई उपचार गर्ने अस्पताल छ भने देशभर १४ अस्पताल, मेडिकल कलेजमा यसको उपचार हुने गरेको छ । नेपाल मात्र नभएर विश्वमै मानसिक समस्या भएकाहरुको संख्या बढ्दै गएको छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म मानसिक स्वास्थ्य समस्याकै एक भाग डिप्रेशन पहिलो स्थानमा आउने आकलन गरेको छ । हाल डिप्रेशन चौथो नम्बरमा रहेको छ । विभिन्न प्रकारका ठुला घटना, बद्लिदो जीवनशैली, १० वर्षे द्वन्द्वको प्रभाव, बढ्दो सहरीकरण, हत्याहिंसा, गरिबी, वातावरणीय प्रदुषण, बेरोजगार लगायतका कारणले नेपालको कूल जनसंख्याको २५ प्रतिशत व्यक्तिमा कुनै न कुनै मानसिक समस्यामा छ ।
पछिल्लो समयमा रोजगारीका लागि विदेशीने युवाहरुको संख्या बढ्दै जादा महिलाहरुमा यो समस्या झन् बढ्दै गएको पाइएको छ । रोजगारीका सिलसिलामा विदेशीएका श्रीमानका श्रीमतीहरुमा मानसिक समस्या बढी हुने गरेको छ । नियमित निद्रा नपर्नु, टोलाइरहनु, मनमा कुरा खेलाइरहनु र एकाएक मानिसको स्वभावमा परिवर्तन आउनु नै मानसिक समस्याको प्रमुख लक्षण हो ।
डर, त्रास र तनाव मानसिक स्वास्थ्य समस्या नभएपनि अस्वभाविक रुपमा डर, त्रास लाग्नु समस्या सुरु हुनु हो । यौन इच्छामा कमी आउनु, आत्महत्या गर्न खोज्नु, शरीरका विभिन्न भाग दुखेको अनुभव हुनु, अचानक बेहोस हुने, झर्को मान्ने, भ्रम पैदा हुने, मिथ्याभास अनुभुति(अरुले नसुनेको वा नदेखेको कुरा सुन्ने वा देख्ने), वानी व्यवहारमा परिवर्तन (एक्लै बोल्ने, हास्ने र इसारा गर्ने), विरामी भएको आभाष नहुने, असन्तुलित मन, निद्रा नलाग्ने, खाना धेरै खाने वा नखाने, सानो कुरामा झगडा गर्ने, छिट्टै आवेशमा आउने लगायतका क्रियाकलाप मानसिक स्वास्थ्य समस्याका लक्षणहरु हुन् ।
उपचार संभव छ ?
मानिस स्वस्थ हुनको लागि शारीरिक, मानसिक र सामाजिक वातावरण स्वस्थ हुनु पर्दछ । शारीरिक रुपमा मानिस तन्दुरुस्त हुदैमा मानिस स्वस्थ हुन्छ भन्ने छैन । मानिसको दैनिक दिनचर्या÷क्रियाकलाप सामाजिक मुल्य, मान्यता अनुरुप भएमा मानिस सबै प्रकारले स्वस्थ मानिन्छ । सबै मानसिक समस्या भएकालाई औषधि सेवनै गर्नुपर्छ भन्ने छैन ।
चिकित्सकका अनुसार पहिलो चरणमै मानसिक समस्या भएको पत्ता लगाउन सकेमा मनोपरामर्श बाट नै उनीहरुको समस्या हल हुन्छ । अन्य दिर्घ रोगको औषधि सेवन गरेपनि मानसिक समस्याको औषधि सेवन गर्दा लत बस्छ भन्ने भ्रमका कारण समस्या अझ जटिल बन्ने गरेको चिकित्सक ढुंगानाको भनाई छ ।
डा. विक्रम काफ्लेका अनुसार पहिले जटिल मानसिक स्वास्थ्य समस्या भएका मात्र आउने गरेकोमा पछिल्लो क्रममा केही सुधार भएको जानकारी गराउनुभयो । उहांले मानसिक समस्याको वारेमा विद्यालय तहमै पठन पाठनको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै साइकोलोजिष्ट यशोदा बगालेले बालबालिकालाई सानै उमेर देखि हरेक परिस्थितीको वारेमा मानसिक रुपमा तयार पार्नु पर्ने बताउनुहुन्छ । उनीहरुको असिमित इच्छा, चाहना, मागलाई पुरा गदै जादा पछि दुर्घटना हुने हुदा सानै उमेर देखि उनीहरुलाई मानसिक रुपमा तयार पार्नु पर्ने उहांको भनाई छ ।

संचारकर्मीलाई अभिमुखीकरण
सुनगाभा सामुदायिक विकास केन्द्र रुद्रपुर रुपन्देहीले आज मणिग्राममा बुटवलका संचारकर्मी संग मानसिक स्वास्थ्य समस्या विषयक अभिमुखीकरण गरेको छ ।
संस्थाले रुपन्देहीको सौ फर्साटिकर, धकधई र मझगावामा मानसिक स्वास्थ्य समस्याको वारेमा विभिन्न कार्यक्रम गदै आएको छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको वारेमा पहिचान र उपचारमा सहिजो होस् भनेर रुपन्देहीका ६० जना नर्स, हेल्थपोष्ट इन्चार्ज र ५ सय ६१ स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण दिएको कार्यक्रममा जानकारी गराइएको थियो ।
सुनगाभाका अध्यक्ष प्रेम बहादुर वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य रुपन्देही प्रमुख जनस्वास्थ्य प्रशासक चुरामणी भण्डारी, युनाइटेड मिसन टु नेपालका वरिष्ठ कार्यक्रम अधिकृत सुनिल गौतम, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष शेर बहादुर केसी, पुर्व अध्यक्ष दिपक ज्ञवाली, संस्थाका कार्यक्रम संयोजक गोपाल केसी, स्वास्थ्य परियोजना संयोजक अमृता थापा लगायतले मानसिक समस्याको वारेमा समाजमा भएको भ्रम चिर्न जनचेतना फैलाउनु पर्ने उल्लेख गर्नुभयो ।