मुलुकमा ३८ औं प्रधानमन्त्रीका लागि ओली र कोइराला मैदानमा,यसरी छानिदैछ ?

407

मुलुकमा ३८ औं प्रधानमन्त्रीका लागि ओली र कोइराला मैदानमा,यसरी छानिदैछ ?

k s

संविधानको प्रावधान अनुसार आज बस्ने संसदको बैठकमा मुलुकको ३८ औं प्रधानमन्त्रीका लागि मतदान प्रक्रिया हुँदै छ।

नयाँ संविधानको धारा २९८ को उपधारा २ बमोजिम राजनीतिक सहमतिको सरकार गठनका लागि राष्ट्रपति रामवरण यादवले दलहरुलाई दिएको समयसीमा बिहिबारै सकिएको थियो।

त्यसपछि शुक्रबारको संसद बैठकले संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतका आधारमा प्रधानमन्त्री चयन आजको बैठकले गर्नेछ।

त्यसका लागि पहिलो ठूलो दलको तर्फबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइराला र दोस्रो ठूलो दल एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गरी नयाँ प्रधानमन्त्रीको निर्वाचनको मैदानमा उत्रिसकेका छन्।

कांग्रेसका सभापति कोइरालालाई अहिलेसम्म बाहिर देखिने गरी कुनै पनि दलका सदस्यले समर्थन गरीसकेका छैनन्। ओलीलाई एमाओवादी, राप्रपा नेपाल, राप्रपा लगायत १५ साना ठूला दल र एक स्वतन्त्र सभासद गरी कुल ३२३ सांसदले समर्थन जनाएका छन्। त्यसमा एमालेका तर्फबाट सभामुख रहेका सुवासचन्द्र नेम्वाङ र एमाओवादी परित्याग गरेका बाबुराम भट्टराई पर्दैनन्।

यो समिकरणमा चुनाव हुने समयअघि सम्म कुनै फेरबदल नभए हाल कायम रहेको संसदको ५ सय ९८ सदस्यमध्ये स्पष्ट बहुमतका आधारमा एमाले अध्यक्ष ओली भोलि नै प्रधानमन्त्रीको पदमा निर्वाचित हुने पक्का छन्।

संसदमा कसरी हुन्छ प्रधानमन्त्रीको निर्वाचन?

संविधानको धारा २९८ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीको निर्वाचनका लागि संसदको अन्तरिम कार्यविधिको दफा १९ को व्यवस्था अनुसार आइतबारको संसदमा प्रक्रिया अघि बढ्ने छ।

उक्त दफाको उपदफा ६ अनुसार, आइतबार बिहान ११ बजेदेखि बस्ने संसदको बैठकमा सभामुखले प्रधानमन्त्रीका दुबै उम्मेदवारका प्रस्तावक र समर्थकले आफ्नो उम्मेदवारको पक्षमा सदनसमक्ष बक्तब्य दिने छन्।

त्यसपछि सबै उम्मेदवारको सूचनामाथि सदनमा सक्षिप्त छलफल हुनेछ। त्यसपछि सभामुखले कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा उसलाई समय दिनेछन्। उम्मेदवारी फिर्ता लिने समयसिमाभित्र कुनै पनि सदस्यले आफ्नो उम्मेदवारी फिर्ता नलिए सभामखुले दुबै उम्मेदवारको उम्मेदवारीका सूचना एकैपटक सदन समक्ष निर्णयार्थ प्रस्तुत गर्नेछन्।

त्यसरी निर्णयार्थ प्रस्तुत उम्मेदवार मध्ये जुन उम्मेदवारले संविधानको धारा २९८ को उपधारा ३ बमोजिम व्यवस्थापिका संसदको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत प्राप्त गर्छ सो उम्मेदवारलाई प्रधानमन्त्री पदमा निर्वाचित भएको घोषणा गर्नेछन्।

संसदको अन्तरिम कार्यविधिको सोही दफाको उपदफा ७ बमोजिम प्रधानमन्त्रीको उम्मेद्‌वारीको सूचनामाथि सदनमा मत विभाजनको प्रक्रियाद्धारा निर्णय हुने छ।

यदि कुनै एक उम्मेदवारको मात्रै उम्मेदवारी कायम रहेमा सभामुखले उक्त उम्मेदवारको पक्षमा हुन्छ भन्ने सदस्यहरुलाई एउटा ढोकाबाट र विपक्षमा रहने अर्थात हुन्न भन्ने सदस्यलाई अर्को ढोकाबाट भिन्दाभिन्दै लबिमा प्रवेश गराइ त्यहाँ राखिएको बर्णानुक्रम अनुसारको नामावलीमा हस्ताक्षर गर्नुपर्नेछ। यसरी संकलित मतगणनाको परिणाम सभामुखले तत्काल सदनसमक्ष सुनाउनुपर्नेछ।

बहुमत नआएमा के हुन्छ?

यदि कुनै उम्मेदवारले कुल सदस्य संख्या अर्थात ५ सय ९८ को बहुमत अर्थात ३ सय मत प्राप्त नगरेमा कार्यविधिको सोही दफाको उपदफा ८ बमोजिम सभामुखले दुबै उम्मेदवारीको सूचनालाई पुन एक पटक संसदको अर्को बैठकमा निर्णयार्थ पेश गर्नेछन्।

यदि यसमा पनि कुनै उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न नसकेमा सभामुखले उपदफा ११ बमोजिम उक्त निर्वाचन प्रक्रिया अन्त्य गरी पुःन अर्को नयाँ निर्वाचनको प्रक्रिया शुरु गर्नेछन्।

पहिलो संविधानसभाको निर्वाचन पश्चात गठित संसदमा प्रधानमन्त्रीको निर्वाचनमा कतिपय ठूला दल र तीनका सभासदहरु नै घोषित रुपमा अनुपस्थित वा तटस्थ रहदाँ लामो समयसम्म सरकार गठन प्रक्रिया अबरुद्ध भएको थियो।

त्यसमाथि परेको मुद्दाको फैसलामा सर्वोच्च अदालतले दिएको आदेश अनुसार, अहिलेको संसदको अन्तरिम कार्यविधिको दफा १९ को उपदफा १३ प्रधानमन्त्रीको निर्वाचनमा कानुन बमोजिम बाहेक अर्थात सभामुखलाई विशेष कारण सहित अग्रिम जानकारी बिना कुनै पनि सदस्य भोलिको बैठकमा अनुपस्थित रहन वा मत दिन्न भनि तटस्थ रहन पाउने छैन।

प्रधानमन्त्रीको सपथ

यसरी भोलिको संसदले स्पष्ट बहुमतका साथ कुनै एक उम्मेदवारलाई निर्वाचित गरेमा सभामुखले उपदफा १४ बमोजिम प्रधानमन्त्री निर्वाचित भएको ब्यहोरा राष्ट्रपति समक्ष लेखि पठाउने छन्। उक्त निर्णयका आधारमा राष्टपतिले नयाँ प्रधानमन्त्रीलाई पद तथा गोपनियताको सपथ दिलाउनेछन्।