सहमति खोज्न सरकार तयार : उपप्रधानमन्त्री निधि

213

सहमति खोज्न सरकार तयार : उपप्रधानमन्त्री निधि

nidhi

भक्तपुर, २४ मङ्सिर । उपप्रधानमन्त्री विमलेन्द्र निधिले संसद्मा दर्ता गरिएको संविधान संशोधन विधेयक परिमार्जन गरेर सहमति खोज्न सरकार तयार रहेको बताउनुभएको छ ।

सल्लाघारीमा आजदेखि सुरु भएको छदिने अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री निधिले सहमतिका लागि सरकार संशोधन विधेयकलाई परिमार्जन गर्न तयार रहेको स्पष्ट गर्नुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला संविधान संशोधनका लागि छलफल र सम्झौता भएको जिकिर गर्दै गृहमन्त्री निधिले आन्दोलन छाडेर समस्या समाधानका लागि एमालेलाई संवादमा आउन आग्रह गर्नुभयो ।

संसद् अवरोधले संवैधानिक र लोकतान्त्रिक प्रक्रिया नै अवरुद्घ हुने भएकाले आन्दोलनको सट्टा समाधानको बाटो खोज्न आग्रह गर्दै उहाँले संविधान कार्यान्वयनका लागि निर्वाचन गराउनु आवश्यक रहेकामा जोड दिनुभयो ।

संविधान संशोधनको विषयलाई लिएर आन्दोलनमा जानु र पक्ष विपक्षमा विभाजित हुनुभन्दा वार्ताबाटै निकासका लागि अधिकतमभन्दा अधिकतम सहमति खोज्नुपर्ने उहाँको भनाइ थियो ।

संविधान घोषणा भएदेखि नै संविधान संशोधनको कुरा उठेको बताउँदै उहाँले दल मिलेर संविधान कार्यान्वयनमा जानुको विकल्प नरहेकामा जोड दिनुभयो । मन्त्री निधिले भन्नुभयो– “संविधान कार्यान्वयनका लागि दलबीच छिट्टै सहमति जुट्ने छ, संविधान कार्यान्वयनको वातावरण तयार पार्नकै लागि संसद्मा संशोधन विधेयक दर्ता भएको हो ।”

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले लगानीको वातावरणलाई नबिगारी उद्योग सञ्चालनमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । उद्योग वाणिज्य सङ्घ भक्तपुरका पूर्वअध्यक्ष एवम् सल्लाहकार कृष्णप्रसाद ताम्राकारले भक्तपुरको सल्लाघारीस्थित ९९ रोपनी जग्गा अन्तर्राष्ट्रिय मेलास्थलका लागि सङ्घलाई दिन सरकारसँग माग गर्नुभयो ।