
बुटवल, २८ मंसिर । नेपाल मगर संघ रुपन्देही र बुटवल उपमहानगर समितिले मंगलबार बुटवलमा पितृ पुजा सम्पन्न गरेको छ । बाजेबज्यै थानमा बुटवलका मगर जातीहरुले एकै ठाउँमा पितृ पूजा गरेका हुन ।
नेपाल मगर संघ रुपन्देहीका सल्लाहाकार केशबहादुर श्रीसको प्रमुख आतिथ्यमा पूजाकार्यक्रम गरिएको हो । उक्त अवसरमा बोल्दै सल्लाहाकार श्रीसले आफ्नो भाषा सस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानुपर्ने बताउनुभयो ।
पुजापछि आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठ, नेपाल मगरसंघका केन्द्रीय सल्लाहाकार केशव सूर्यवंशी मगर, नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका सदस्य धनी आले, मगर संघका सल्लाहाकार भोजबहादुर बुढाथोकी, अर्का सल्लाहाकार इञ्जिनियर गमप्रसाद रेस्मी मगर, आदिवासी जनजाति महासंघ तिलोत्तमाका शंकर गाहा, प्रेस सल्लाहाकार टेक मास्की राना लगायतले बोल्दै शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रम गोपाल चौहानको अध्यक्षता, सचिव देवेन्द्र बाह्रघरेको सञ्चालन एंव उपाध्यक्ष बसन्ती साठीघरेको स्वागतमा सम्पन्न भएको थियो । मगरहरुले पूत्येक बर्ष बुटवलमा सामूहिक रुपमा आफ्ना पितृहरुको सम्झनामा पुजाअर्चना गर्दै आएका छन् । पुजाको अवसरमा आयोजित कार्यक्रममा मगर भेषभुषा झल्कने नृत्यहरु समेत प्रदर्शन गरिएको थियो ।