
मणिग्राम, २८ मंसिर । नेकपा एमालेका उपमहासचिव तथा पुर्वपन्त्री घनश्याम भुसालले अव सरकारले अरु प्रदेशको समेत सीमाना हेरफेर गर्न नसक्ने बताउनुभएको छ ।
पाँच नम्बर प्रदेश विभाजन गर्न खोज्दा उठेको जनताको आन्दोलनले अव सरकारले अरु प्रदेशको सीमाना हेरफेर गर्नका लागि दश पल्ट सोंच्न बाध्य बनाएको उहाँले टिप्पणी गर्नुभयो । “एउटा प्रदेश हेरफेर गर्न खोज्दा सरकारले अरु प्रदेशका लागि समेत पाठ सिकेको छ”–भुसालले भन्नुभयो । लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो लुम्बिनीको १८ औं वार्षिक साधारण सभा तथा अधिवेशनको आज रुपन्देहीको मणिग्राममा उदघाटन गर्दै उपमहासचिव भुसालले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव पास नहुने निश्चित भएको बताउनुभयो ।
पाँच नम्बर प्रदेशका जनताले समेत यसलाई एकतावद्ध रुपमा अस्वीकार गरिसकेको र संशोधन प्रस्ताव पारित गर्न आवश्यक संख्या नपुग्ने निश्चित भइसकेको उल्लेख गर्दै उहाँले यदि पास भइहाले पनि त्यो लागु हुन नसक्ने जिकिर गर्नुभयो । नेपालले दुई छिमेकी मुलुक चीन र भारतको आर्थिक विकासबाट लाभ लिन नसकेको उल्लेख गर्दै भुसालले आगामी १० वर्ष मुलुकमा यही अवस्था रहने हो भने चीन र भारतको सुरक्षा चासोलाई नेपालले थेग्न नसक्ने स्पष्ट पार्नुभयो । “चीन र भारतले गरेको तीव्र आर्थिक प्रगतिले भविष्यमा उनीहरुको सुरक्षा चासोलाई थेग्नै नसक्ने अवस्थामा मुलुक पुग्दैछ, यसले नेपालको भविष्य नै गम्भीर संकटमा पर्ने स्थिति देखिएको छ”–उहाँले भन्नुभयो ।
मुलुकको राजनीतिक नेतृत्व चरम भ्रष्ट्राचारमा लिप्त रहेको, कर्मचारीतन्त्र त्यसैको फोटोकपी रहेको र प्रहरीमा समेत दलीयकरण हावी भएको उल्लेख गर्दै उहाँले दश वर्षभित्र भारतकै हाराहारीमा जानसक्ने सामथ्र्यलाई राजनीतिक अस्थिरताले पछाडि धकेल्दै लगेको टिप्पणी गर्नुभयो ।
उहाँले राष्ट्रिय एकता, आर्थिक विकास, राजनीतिक स्थिरता जस्ता विषयहरुमा सञ्चारमाध्यमहरुले समेत गम्भीर भएर सोंच्नुपर्ने बेला आएको बताउनुभयो । फरक प्रसंगमा उहाँले तिलोत्तमा नगरको योजनावद्ध विकास गर्न सके भविष्यमा यो क्षेत्र समृद्ध महानगरपालिकाको रुपमा अगाडि बढने दावी गर्दै यसका लागि अग्रसर हुन सरोकारवालालाई सुझाव दिनुभयो ।
कार्यक्रममा बौल्दै सामुदायिक रेडियोका अभियान्ता रघु मैनालीले रेडियोलाई साझा संस्थाका रुपमा विकास गर्न सके यसले आर्थिक, सामाजिक लगायत समाजका हरेक क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्ने बताउनुभयो । त्यस अवसरमा नेपाली काँग्रेसकी नेतृ मनोरमा शेरचन, रेडियोका सल्लाहकार बेनुराम प्रधान, औषधि व्यवसायी संघ लुम्बिनी अञ्चल अध्यक्ष शिव ज्ञवाली, रुपन्देही व्यापार संघका अध्यक्ष मोतिलाल पाण्डे, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी, तिलोत्तमा व्यापार संघका अध्यक्ष झविन्द्रप्रसाद कंडेल, पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष दिपक ज्ञवाली लगायतले बोल्नुभएको थियो ।
त्यस अवसरमा संस्थाका अध्यक्ष कृष्णप्रसाद अर्यालले रेडियोको भावी योजना समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाले कोषाध्यक्ष दुर्गा प्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको लेखा परिक्षण प्रतिवेदन र आय व्वय तथा लेखा सदस्य भाष्करनाथ पाण्डेले प्रस्तुत गर्नुभएको आन्तारिक लेखा परिक्षण प्रतिवेदन पारित गरेको छ । उपाध्यक्ष दुजेन्द्र बस्नेतको स्वागत र स्टेशन म्यानेजर इन्दिरा अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
रेडियो लुम्बिनीद्धारा बिभिन्न व्यक्तीत्वहरुलाई सम्मान

१८ औं साधारण सभाका अवसरमा रेडियो लुम्बिनीले बिभिन्न व्यक्तीत्व तथा संस्थाहरुलाई सम्मान गरेको छ । संस्थाको स्थापनामा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएकोमा सामुदायिक रेडियोका अभियान्ता रघु मैनाली र दिनेश रायमाझीलाई सम्मान गरेको छ ।
त्यस्तै संस्थाको संस्थागत बिकास र समृद्धिमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएकोमा पूर्व कार्यकारी प्रमुख तथा स्टेशन म्यानेजरहरु मोहन चापागाई, भरतराज भुषाल, कृष्ण प्रसाद नेपाल र कुलमणी ज्ञवालीलाई कदर पत्रले सम्मान गरिएको छ । साधारणसभाकै अवसरमा रेडियोमा कार्यरत कर्मचारीहरु सरस्वती भण्डारी, धिरज पौडेल, शारदा शाही, हिक्मत चौधरी र हुमनाथ भट्टराई तथा जिल्ला संवाददाताहरु शोभाखरपन्थी, विष्णु आले, पार्वती पाण्डेलगायतललाई सम्मान गरिएको छ । सो अवसरमा स्वर्गिय रेडियोकर्मी मदन भण्डारीको स्मृतिमा स्थापित अक्षयकोषबाट दृष्टिविहिन पत्रकार सिता दर्नाललाई नगदसहित पुरस्कृत गरिएको थियो । उहाँ रिपव्लीक बुटवलमा कार्यरत हुनुहुन्छ ।
कार्यक्रममा रेडियोमा कल्याणकारी अक्षयकोष
स्थापनाको लागि व्यक्तिगतरुपमा रु १ लाखको प्रदान गर्नुहुने रेडियोका सदस्य तुल्सीराम कंडेललाई पनि कदरपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा बिभिन्न अभियानमा सहकार्य गर्ने प्रगतिशिल महिला बिकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड, थ्रि एन्जल्स नेपाल, सिद्धार्थ सामुदायीक समाज, शाइन रेसुङ्गा डेभलप्मेण्ट बैंक र ग्लोबल मिडियासहित बिज्ञापदाताहरुलाई पनि सम्मान गरिएको थियो ।
नयां नेतृत्व चयन

रेडियो लुम्बिनीको १८ औं साधारण सभा तथा अधिवेशनले मोहन चापागाईको नेतृत्वमा १५ सदस्यीय नया कार्यसमिति निबिर्रोध निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष चापागाई यस संस्थापक सदस्य हुनुहुन्छ भने बिभिन्न समयमा कार्यकारी प्रमुखको जिम्मेवारी रहनुभएको थियो ।
त्यसैगरी उपाध्यक्षमा इ. दुजेन्द्र बस्नेत र कोषाध्यक्षमा दुर्गा प्रसाद पाण्डे निर्बिरोध हुनुभएको छ । त्यस्तै सदस्यहरुमा इन्द्र बहादुर सुनार, देवी वाग्ले, सुर्यकुमार श्रेष्ठ, कन्हैयालाल कशौधन, हरिप्रसाद कंडेल, राम बहादुर बस्नेत, लोकराज चापागाई, शारदा अर्जेल, केशवराज गौतम, मधुकला कुंवर, बिष्णुप्रसाद पाण्डे र रामप्रसाद ढकाल निर्वाचित हुनुभएको छ ।
त्यस्तै अर्जुनराज उपाध्याय संयोजक तथा रामचन्द्र पाण्डे र प्रकाश पाण्डे सदस्य रहेको लेखा समिति पनि निर्वाचित हुनुभएको छ । निर्वाचन समितिका संयोजक लक्ष्मण ज्ञवालीले नवनिर्वाचित कार्यसमिति तथा लेखा समिति लाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
सो अवसरमा प्रतिवद्दता मन्तव्य व्यक्त गर्दै नव निर्वाचित अध्यक्ष मोहन चापागाइँले समुदायको भावनाअनुसार सामाजिक परिवर्तनको अगुवा सञ्चार माध्ययमको रुपमा रेडियो लुम्बिनीलाइ अगाडी वढाउन नयाँ समितिले योजना बनाएर काम गर्ने बताउनुभयो ।