तिलक तारामी ” रेशाली “
बुटवल – १३, रुपन्देही
अर्को साल त तिम्रो गाउँ, आउनु पर्ला सानू ।
मैले त्यही गाउँमा माया, पाउनु पर्ला सानू ।
म त अहिले अरबको, तात्तातो घाम खाँदैछु,
मौका मिले भरेतिर फोन, लाउनु पर्ला सानू ।
सुत्दा बिस्तराबाटै, ताराहरु देखिन्छन् रे !
फुसले भए पनि त्यो घर, छाउनु पर्ला सानू ।
पूरै तीन वर्ष भो, खेतबारी पनि बाँझै छ रे !
बहर गोरु किनेर भएनि, दाउनु पर्ला सानू ।
मान्छे भएपछि, भोक प्यास त लागिहाल्छ,
टाढै भएनि सङ्लै खोला, धाउनु पर्ला सानू ।
दुई चार जना संगिनीहरु जम्मा गरि राख है,
धित मर्ने गरि दोहोरी गीत, गाउनु पर्ला सानू ।
~