
बुटवल, ५ पुस । युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली प्रहार गरि हत्या भएको घटनाप्रति नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेसले दिन दहाडै एक ब्यक्तीको ज्यानलिने गरि गोली चलाउनुले रुपन्देहीको शान्ति सुरक्षामै ठुलो चुनौती देखिएको बताएको छ । कांग्रेस क्षेत्र नम्बर १ का सभापति हिराबहादुर खत्रीले आज विज्ञप्ती निकालेर घटनामा संलग्न जो कोही भएतापनि दोषिलाई तुरुन्त पक्राउ गरि कार्वाही गर्नु पर्ने माग गर्नु भएको छ ।
रुपन्देहीको देवदहमा भएको घटना सामान्य नभएको भन्दै आम नागरिकलाई नै त्रसित पार्ने गरि गरिएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।
खत्रीले विज्ञप्ती मार्फत युवा ब्यवसायी तथा युवा संघका अध्यक्ष तिवारीको निधनले कांग्रेस क्षेत्र नम्बर १ नै स्तब्ध भएको उल्लेख गर्दै तिवारीको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजन प्रति समवेदना ब्यक्त गर्नु भएको छ ।