मेलाभित्र मिनी मेला गरिने

463

मेलाभित्र मिनी मेला गरिने


कविन्द्र नेपाल/
बुटवल, ५ पुस । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले यहि पुसको ८ देखि २३ गतेसम्म बुटवलमा सञ्चालन गर्न लागेको औद्योगिक व्यापार मेला २०७३ मा मिनि रोजगार मेला सञ्चालन गर्ने तयारी गरेको छ ।

हालै सरकारले पाँच बिकास क्षेत्रमा पाँच स्थानमा रोजगार सूचना केन्द्र स्थापना गरेको छ । उक्त रोजगार सूचना केन्द्रको समन्वयमा रोजगार मेलाको तयारी गरिएको औद्योगिक व्यापार मेला २०७३ का प्रचार प्रसार संयोजक बिमलराज भट्टराईले बताउनु भयो । मेलामा श्रम शक्तिको माग तथा रोजगारीको अवस्था कस्तो छ भन्ने कुरालाई अध्ययन र विश्लेषण गरिने छ । उक्त मेलामा रोजगार दाताबाट कस्तो तथा कति जनशक्ति आवश्यक छ भन्ने सूचना संकलन गरिने छ भने वेरोजगार युवाहरुमा कस्तो श्रम शक्ति छ, उसमा कस्तो शिप छ, कस्तो काममा उसको लगाव छ दक्षता कति छ लगायतका कुराहरु संकलन गरिने छ ।

संकलित सूचनालाई अध्ययन गरेर रोजगार दाता तथा बेरोजगार युवाको बिचमा पुलको काम गर्ने गरी यस्तो मिनी मेला सञ्चालन गर्न लागिएको प्रचार संयोजक भट्टराईले बताउनु भयो । त्यस्तै गरी मेलामा रोजगार प्रदायक संस्थाहरु, शिप बिहिनकालागि तालिम प्रदायक संस्थाहरुको बारेमा समेत परामर्श पर्दान गरिने छ । शिप छ र स्वरोजगार गर्न चाहेको भए त्यस्ता व्यक्तिकालागि समेत लगानीका सम्भावित क्षेत्रहरु पहिचान गराउने, उसलाई थप आवश्यक परामर्श प्रदान गरिने बुटवल उद्योग बाणिज्य संघका कार्यकारी प्रमुख सञ्जय ज्ञवालीले बताउनु भयो । त्यसको लागि मेलामा तालिम प्राप्त परामर्शदाताहरु राखेर परामर्श प्रदान गरिने छ ।

उद्योगीकालागि आवश्यक जनशक्ति उपलब्ध हुने तथा वेरोजगार युवाहरुलाई रोजगारीको पहँुचमा पु¥याउने र शिप बिहिनकालागि पनि तालिम प्रदायक संस्थाहरुको बारेमा परामर्श गरिने भएकाले यो मेला उद्यमी र वेरोजगार युवाहरुकालाग पनि फलदायी हुने संघका अध्यक्ष तथा मेला कार्य सम्पादन समितिका संयोजक महेशमान सिंहले विश्वास व्यक्त गर्नुभयो ।

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ पुसको २३ गतेसम्म सञ्चालन गरिने औद्योगिक व्यापार मेलामा १३ पेभिलिनमा करिव ६ सय स्टल दर्ता गर्ने आयोजकले लक्ष्य लिएका छन् । मेलामा नेपाल भित्रका औद्योगिक व्यापारिक तथा सेवा प्रदायक प्रतिष्ठानहरु, छिमेकी मित्रराष्ट्रका औद्योगिक व्यापारिक प्रतिष्ठानहरु, उद्योग बाणिज्य क्षेत्रमा सेवा प्रदायक संघसंस्था तथा सरकारी निकायहरु सहभागि हुने संयोजक सिंहले जानकारी दिनुभयो ।

मेलामा कृषि, अटो, व्यूटि प्रोडक्ट, सूचना प्रविधी, होटल रेष्टुरेन्ट, जुत्ता चप्पल, फर्निचर, गार्मेन, हस्तकला, फाष्टफूड तथा सेवामुलक लगायत १३ वटा पेभिलियनमा हालसम्म ४ सय स्टल दर्ता भईसकेका छन् । मेलामा नयाँ कुरा भन्दा पनि उत्पादक र उपभोक्ता बिच समन्वय गराउनुका साथै उद्यमशिलतामा क्षमता अभिबृद्धि गर्ने प्रमुख उद्देश्य रहेको संघमा महासचिव तथा कार्य सम्पादन समितिका हरिप्रसाद अर्यालले बताउनु भयो ।

त्यस्तै मेलालाई आकर्षक बनाउनकालागि प्रवेशद्वार ऐतिहारिक जीतगढी किल्ला र सचिवालय संघको आफ्नै भवनको आकृति निर्माण गरिएको छ । बुटवल १२ रामनगर स्थित बुटवल मण्डपमा १६ दिनसम्म सञ्चालन हुने मेलामा नयाँ गायन प्रतिभाकालागि भ्वाईस अफ बुटवल, गृहिणी महिलाकालागि ममी डान्स लगायतका प्रतियोगिता सञ्चालन गरिने छ ।

त्यस्तै राष्ट्रिय स्तरको लोकदोहोरी प्रतियोगिता पनि सञ्चालन गरिने संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यसम्पादन समितिका सहसंयोजक खिमबहादुर हमालले बताउनु भयो । मेलालाई सामान्य मेलाको रुपमा मात्रै सञ्चालन गर्ने भन्दा पनि मेलालाई कसरी विशिष्टिकृत बनाउन सकिन्छ भनेर लागि परेको उहाँले बताउनु भयो । मेलाको पूर्व सन्ध्यामा सात गते मेला प्रचार प्रसार तथा प्रवद्र्धनात्मक ¥याली प्रदर्शन गर्ने संघले तयारी गरेको छ ।