
तिवारी हत्यामा संलग्न रहेको अभियोग लागेका पनोज बुढा तस्वीर सौजन्य :नेपाल प्रहरी
बुटवल, ५ पुस । युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेको आशंकमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
एमालेको भातृ संगठन युवा संघ अध्यक्ष तिवारीको हिजो दिउसो देवदहमा गोली हानी हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता वेल बहादुर पाण्डेका अनुसार हत्यामा संलग्न रहेको आशंकमा तीन जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । त्यसैगरी हत्यामा प्रयोग भएको मोटरसाइकल रुपन्देहीको कान्छिबजार नजिक फेला पारेको प्रहरीले जनाएको छ ।
बा ५१ प ८०७३ नम्बरको मोटरसाइकल बरामद गरेको छ । रातो रंगको उक्त पल्सर मोटरसाइकलमै चावी रहेको अवस्थामा फेला पारेको प्रहरीको दावी छ । प्रहरीले उपलब्ध गराएको जानकारी अनुसार युवा संघका अध्यक्ष तिवारीको हत्यामा देवदह नगरपालिका ६ बस्ने २८ को मनोज पुन भन्ने पनोज बुढा मगर संलग्न रहेको जनाएको छ ।
पनोज यस भन्दा अगाडि संगठित अपराध, हातहतियार खर खजना र ज्यान मार्ने उधोग मुद्दामा संलग्न रही फरार रहेको प्रहरीको दावी छ ।
युवा संघ अध्यक्ष तिवारीको हत्यामा संलग्नलाई कारवाही माग गदै आज बुटवलमा दिनभर प्रदर्शन भएको छ ।
यसैबीच नेकपा एमाले प्रदेश नं. ५ संगठन कमिटी संयोजक विष्णु पौडेलले विज्ञ्प्ती जारी गरी उच्चस्तरिय छानविन आयोग गठन गरी सत्य तथ्य सार्वजनिक गर्न र घटनामा संलग्नलाई पक्राउ गरी कानुनको दायरामा ल्याउन माग गर्नु भएको छ ।
त्यसैगरी नेकपा एमाले क्षेत्र नं.४ रुपन्देही अध्यक्ष होमराज बस्यालद्वारा जारी विज्ञ्प्तीमा दिउसै भएको घटनाप्रति निन्दा गर्दै कमजोर सुरक्षा स्थितिप्र्रति सरकारको ध्यानाकर्षण गराइएको छ । अनेरास्ववियु रुपन्देही अध्यक्ष बालकृष्ण पाण्डेद्वारा जारी विज्ञ्प्तीमा हत्याको घटनालाई सामान्य रुपमा नलिन सरकारलाई आग्रह गर्दै जनसमुदायलाई सुरक्षाको अनुभूति गराउन माग गरिएको छ ।
हत्यामा संलग्नलाई पक्राउ गरि कारवाही गर्न माग
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)निकट क्रान्तिकारी युवा लिग, रुपन्देहीले युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नहरुलाई पक्राउ गरि कारवाही गर्न सरकारसंग माग गरेको छ ।
तिवारीको हत्या घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै लिगले हत्या घटनाको छानविन गरी दोषीलाई कानुनी कारवाही गर्न माग गरेको हो । लिगका, रुपन्देही अध्यक्ष शंकर के.सी.ले मंगलवार प्रेस विज्ञप्ती जारी गरी हत्यामा संलग्नको छानविन गरी कानुनी कारवाही गर्न सरकार समक्ष आग्रह गर्नुभएको हो ।
जारी विज्ञप्तीमा भनिएको छ– घटना जो सुकैले जुन कारणले घटाएपनि दोषीलाई कानुनी गठघरामा ल्याईनुपर्दछ , घटनालाई राजनीतिक रंग दिनु उचित हुदैन ।’