‘उद्योग व्यवसायमा राजनीतिक अस्थिरता वाधक’

686

‘उद्योग व्यवसायमा राजनीतिक अस्थिरता वाधक’

भैरहवा, ८ पुस  । उद्योग वाणिज्य क्षेत्र फस्टाउन मुलकमा राजनीतिक स्थिरता कायम हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । उनीहरुले पटक पटकको बन्द, हड्ताल, राजनीतिक आन्दोलन ,पूरा अवधि नपुग्दै बारम्बार सरकार परिवर्तन भइरहने जस्ता समस्याले उद्योग तथा वाणिज्य क्षेत्र धराशायी बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै  स्थिरताका लागि सबै पक्ष गम्भीर बन्नुपर्ने आंैल्याए ।

उद्योग व्यापार संगठन, रुपन्देहीले ‘वर्तमान अवस्थामा  उद्योग वाणिज्यको अवस्था, चुनौती एवं सम्भावना’ विषयमा गरेको  अन्तरक्रियामा बौल्दै सरोकारवालाहरुले राजनीतिक स्थिरता हुंदा मात्र उद्योग व्यवसाय फस्टाउने वातावरण बन्ने र मुलुकले समृद्धि हासिल गर्ने स्पष्ट पारे ।
कार्यक्रमका प्रमुख वक्ता कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले गतिहिन आर्थिक वृद्धिको दुश्चक्र तोड्न राजनीतिक स्थिरता संगै विकासको अभियानमा दिर्घकालिन राष्ट्रिय सहमति जरुरी रहेको औंल्याए । नेपालमा उद्योग, ब्यापार, कृषि र पर्यटन क्षेत्रको विकासको प्रचूर संभावना रहेपपनि नीजि क्षेत्रमैत्री ऐन कानुन नबन्दा यो क्षेत्र पछाडि परेको उनले बताए ।

सिद्धार्थ यातायात व्यवसायी समितिका अध्यक्ष सुर्यकुमार सारु मगरले यातायात क्षेत्र जस्तो सेवामूलक संस्थालाई कम्पनी ऐनमा लैजाँदा समस्या निम्तिने आशंका व्यक्त गरे । त्यसै गरी नेकपा माओवादी केन्द्रका नेता शंकर ज्ञवालीले नेपाली उद्योगका लागि भारतबाट आयात हुने कच्चा पदार्थलाई सरकारले सुपथ मूल्यमा उपलब्ध गराउनुपर्ने औल्याए ।

लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरका अध्यक्ष माधव ढुङ्घानाले नयाँ उद्योग स्थापना गर्न धेरै ठाउँ धाउनुपर्ने बाध्यता भएको कारण समस्या आएको बताए । उनले स्वदेशी वस्तुको प्रयोग नगरी भारतीय वस्तुको प्रयोगमा जोड दिएका कारण मुलुकको अर्थतन्त्र दिन प्रति तहसनहस हुदैं गएको समेत बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष डा.शान्त कुमार शर्माले उद्योगी व्यवसायीलाई सुरक्षाको प्रत्याभुति दिलाउन प्रशासन समक्ष माग गरे । नेपालबाट १० प्रतिशत वस्तुहरु मात्र निर्यात हुनु र अन्य मुलकुबाट ९० प्रतिशत वस्तु आयात गर्नु पर्ने बाध्यताका कारण व्यापार घाटा दिनप्रति दिन बढदै गएको प्रति उनले चिन्ता व्यक्त गरे ।

नेपाल रोडा ढुङ्घा उद्योग व्यवसायी संघ रुपन्देहीका अध्यक्ष गोपाल ज्ञवालीले क्रसर उद्योगीका मागलाई राज्यले सम्बोधन गरी सहज वातावरण सिर्जना गर्नुपर्ने बताए । कार्यक्रममा महिला तथा बालबालिका कार्यालय, रुपन्देहीका निरीक्षक अम्बु केसीले महिला उद्यमशिलताको विकास गर्नु अपरिहार्य रहेको बताइन ।

उद्योग व्यापार संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले संगठनले रुपन्देही जिल्लामा उद्योग, ब्यापार, कृषि र पर्यटनको प्रशस्त संभावना रहेकाले संगठनले चार वटै क्षेत्रको विकासका लागि आफ्ना कार्यक्रम लक्षित गरेको बताए । कार्यक्रममा उद्योग व्यापार संगठनका निर्वतमान अध्यक्ष खीम बहादुर खत्री, महासचिव अनिल कुमार ज्ञवाली, संगठनका  सदस्य एवं कार्यक्रम संयोजक ज्ञानु पौडयाल लगायतले धारणा राखेका थिए ।