कृषि पेभिलियनमा दर्शक उपभोक्ताको आर्कषण

1.1K

कृषि पेभिलियनमा दर्शक उपभोक्ताको आर्कषण

बुटवल, १० पुस । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा जारी औद्योगिक मेलामा कृषि प्यभिलियनमा दर्शक उपभोक्ताको आर्कषण देखिएको छ ।

मेलामा बनाइएको कृषि प्यभिलियनमा राखिएका टर्की चरा र चल्ला, छपियाको माछा, पर्वत र म्याग्दीको भुईमा फल्ने स्याउ, गुल्मीको किवी, बिभिन्न स्थानको च्याउ , देवदहको तरकारी सहित कृषि प्रबिधि प्रति दर्शक उपभोक्ताको आर्कषण देखिएको हो । मेलामा सहभागि सोन्सा एग्रो फार्म पर्वतका सञ्चालक राष्ट्रिय युवा उद्यमी पुरस्कार २०७२ बाट सम्मानित अम बहादुर रोका बुटवलको मेलामा किसान उपभोक्ताको सहभागिता र रुचि देख्दा आफुलाई पनि खुशि लागेको बताउनु भयो ।

उहाले मेलामा आफैले उत्पादन गरेको भुई स्याउ र पर्वतको सिस्नोको धुलो, टिमुर, सिलाम सहित जडिबुटी राख्नु भएको छ । त्यस्तै बुटवलका युवा उद्यमी वाइके एग्रिकल्चर फर्मका सञ्चालक यमन श्रीसले गुल्मीको किवी, म्याग्दीको भुई स्याउ सहित पहाडी जिल्लाका दाल तथा जडिबुटी मेलामा राख्नु भएको छ । व्यापार गर्न मेलामा स्टल राखेको भएपनि कृषि उपज प्रति उपभोक्ताको सकारात्मक धारणा चासो देख्दा उत्साहित भएको श्रीसले बताउनु भयो ।

भारतको हिमाञ्चलमा १५ बर्ष व्यवसायिक तरकारी खेती स्वदेश फर्किएर व्यवसायीक च्याउ तथा तरकारी खेतीमा लाग्नु भएको ओली तरकारी तथा च्याउ उत्पादन फर्म रुपन्देही देवदहका थम बहादुर ओली पनि मेलाको च्याउ र तरकारी उत्पादनका सम्वन्धमा सबैलाई जानकारी गराउन पाएकोमा दंग हुनुहुन्छ ।

गत बर्ष ८ लाख रुपैयाको च्याउ बेचेको थिए यस बर्ष १० लाखको बेच्ने लक्ष्य छ म मात्रै होइन अरुलाई पनि व्यवसायिक खेतीमा लगाउन चाहान्छु मेलाले सबैलाई उत्साही बनाएको छ ओलीले भन्नु भयो । उत्पादन मात्रै होइन मेलामा कृषि प्रबिधि पनि त्यत्तिकै राखिएको छ । ५० हजार रुपैयाको प्रतिघण्टा २ कठ्ठा खेत रोप्ने मेसिनदेखि माछाको दाना उत्पादन गर्ने, दाना खुवाउने, धान गहु काट्ने मेसिन पनि राखिएको छ ।
श्रेष्ठ एग्रो एन्पुट्सका क्षेत्रीय व्यवस्थापक सन्देशमान श्रेष्ठ ठुला ठुला मेसिनमा भन्दा साना साना प्रतिघण्टा धान मेसिन, ७५ हजार रुपैया पर्ने माछालाई अक्सिजन दिने एरिएटर, ५५ हजारको हाते ट्याक्टर प्रति किसानले निकै चासो राख्दै किन्न खोजेको बताउनु भयो ।

त्यस्तै माछापुच्छ्रे एग्रो प्रोडक्ट प्रालि कपिलवस्तुका निर्देशक चित्र मल्ल मेलामा राखिएको माछाको दाना प्रति माछा पालकहरुले चासो राखेको बताउनु भयो । मेला कै अवसरमा कृषि बिकास कार्यालय रुपन्देहीको समन्वजयमा भएको कृषि वालि प्रतियोगिताले कृषि प्याभिलियनलाई थप आर्कषक बनाएको छ ।

मेलामा आयोजना गरिएका सास्कृतिक प्रतियोगितामा आइतवार पनि बिभिन्न प्रतियोगिता सम्पन्न भएका छन । भ्वाइस अफ बुटवलको प्रारम्भिक छनौटमा परेका २३ जना मध्येबाट ६ जना बाहिरीएका छन । त्यस्तै लोक दोहोरी गीत प्रतियोगितामा २ वटा प्रतियोगिता सकिएका छन ।