शान्ति समाजको ‘युद्ध निषेध :शान्ति विशेष अभियान’

1.3K

शान्ति समाजको ‘युद्ध निषेध :शान्ति विशेष अभियान’

नागरिक सद्भाव यात्राको कृष्ण पहाडीले नेतृत्व गर्ने
काठमाडौं, १२ पुस । मानव अधिकार तथा शान्ति समाजले “युद्ध निषेध ः शान्ति विशेष” अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु आयोजना गदैै आएको छ । यसैक्रममा दक्षिण एसियामा नागरिक सदभाव संकटमा पर्ने सम्भावना बृद्धि भएको निष्कर्ष सहित शान्ति समाजको युद्ध निषेध ः शान्ति विशेष अभियान, नागरिक सद्भाव यात्रा शुरु हुने भएको छ ।

समाजले एक बिज्ञप्ती जारी गर्दै यो अभियानको उद्देश्य युद्ध, हिंसा एवं आतंकवादको खारेजी र शान्ति सद्भाव तथा समझदारीको प्रवद्र्धन गर्नु रहेको जनाएको छ । दक्षिण एशियामा भारत र पाकिस्तानबीच विद्यमान तनाव र बढ्दो दुरीलाई घटाउन, युद्धका कुनै पनि संभावनालाई निस्तेज पार्न र दक्षिण एशियाली राष्ट्र एवं जनतामाझ शान्ति सद्भाव र समझदारीको प्रवद्र्धन गर्न नागरिक स्तरबाटै व्यापक पहल आवश्यक छ भन्ने ठानेर शान्ति समाजले यो अभियान प्रारम्भ गरेको हो । यो अभियानको क्रममा शान्ति समाजले दक्षिण एशियाली राष्ट्रहरुलाई भावनात्मक रुपमा जोड्ने उद्देश्यले “नागरिक सद्भाव यात्रा”को प्रारुप अघि सारेको छ– बिज्ञप्तीमा भनिएको छ ।

समाजका अनुसार यस अभियानको क्रममा नेपालबाट एक दर्जन भन्दा बढी शान्तिवादीहरु सम्मिलित पहिलो चरणको “नागरिक सद्भाव यात्रा” प्रारम्भ हुने छ जसको नेतृत्व समाजका संस्थापक सभापति कृष्ण पहाडीले गर्नुहुने छ ।

मानव अधिकार तथा शान्ति समाजको संयोजनमा प्रारम्भ हुने यस अभियान नेपालबाट प्रारम्भ भई भुटान, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका र मालदीभ्स सम्मको यात्रा पश्चात टुङ्गीने छ । यात्राको क्रममा “नागरिक सद्भाव यात्रा टोली”ले दक्षिण एशियाली राष्ट्रहरुमा विभिन्न निकाय, नागरिक समाज आवद्ध संघ संस्थाहरुसँग छलफल, अन्तरक्रिया गर्नेछ भने विभिन्न शहरमा आयोजित कार्यक्रमहरुमा सहभागी हुनेछ । यसै गरी दक्षिण एशियाली राष्ट्रका उच्च पदस्थ अधिकारीहरु, सरकारी निकाय, सांसदहरु, लगायतसँग भेटघाट पनि गर्नेछ ।

समाजका अनुसार टोलीले बस, रेल र पानी जहाजबाट यात्रा गर्नेछ । नेपालबाट यो क्रम शुरु भएपछि दक्षिण एशियाका अन्य देशहरुबाट पनि यसरी नै नागरिक सद्भाव यात्रा प्रारम्भ हुने अपेक्षा शान्ति समाजले गरेको छ । साथै दक्षिण एशियाका अन्य देशहरुबाट नेपाल आउने नागरिक सद्भाव यात्रा टोलीको नेपाल भित्रको कार्यक्रमको संयोजन र नेपाल बस्दाको खर्च (नेपाल भित्रको यातायात सहित) शान्ति समाजले व्यर्होने छ– बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

समाजका सभापति गंगाधर अधिकारीद्वारा जारी बिज्ञप्तीका अनुसार यो अभियान सफलतापुर्वक सम्पन्न गर्ने क्रममा शान्ति समाजले दक्षिण एशियाली राष्ट्रका काठमाण्डौँस्थित राजदुतावास तथा कुटनीतिज्ञहरुसँग पनि छलफलको श्रृखला प्रारम्भ गर्न गइरहेको छ । कुनै प्राविधिक कठिनाई उत्पन्न नभएमा शान्ति समाजले नागरिक सद्भाव यात्रा कार्यक्रमको थप प्रारुप सार्वजनिक गर्ने छ ।

स्मरणीय छ शान्ति समाजले कुनै पनि स्वदेशी तथा बिदेशी सरकार, दुतावास, दातृ निकाय र गैरसरकारी संस्थाबाट आर्थिक सहयोग ग्रहण गर्दैन र यस अभियानका लागि पहिलो चरणमा आवश्यक खर्च पनि यात्रा टोलीका सदस्य, शुभचिन्तक र समाजका सदस्यहरुबाटै व्यहोरिने छ– बिज्ञप्तीमा भनिएको छ ।