संसद् अवरुद्ध गर्ने प्रवृत्ति शोभनीय छैन्ः मन्त्री केसी

1.3K

संसद् अवरुद्ध गर्ने प्रवृत्ति शोभनीय छैन्ः मन्त्री केसी

पोखरा, १२ पुस । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले नेकपा (एमाले)लगायतका राजनीतिक दलले संविधान संशोधन प्रस्ताव संसद्मा पेस गर्न नदिएर अराजकताको स्थिति पैदा गरेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो– “प्रक्रियागतरुपमा अघि बढेर प्रस्ताव पास वा फेल जे भएपनि सरकारले त्यसलाई स्वीकार्न तयार रहेको छ तर निरन्तर संसद् अवरुद्ध गर्ने प्रवृत्ति शोभनीय छैन् ।”

मन्त्री केसीले “अबको १३/१४ महिनाभित्र संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन गर्न जरुरी छ”, भन्दै “असन्तुष्ट पक्ष मधेसी मोर्चाका माग सम्बोधन नगरी संविधान कार्यान्वयन नहुने अर्को खालको जटिलता छ बताउनुभयो ।”

तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न निर्वाचनसम्बन्धी कानुन पारित गर्नुपर्नेमा जोड दिँदै उहाँले संसद अवरुद्धले निर्वाचनसम्बन्धी कानुन पनि पेस नभएकोप्रति प्रमुख प्रतिपक्षले गम्भीरतापूर्वक बुझ्न जरुरी छ भन्नुभयो । रासस