संशोधन प्रस्ताव अघि बढाउने सत्ता पक्षको निर्णय

1.3K

संशोधन प्रस्ताव अघि बढाउने सत्ता पक्षको निर्णय

काठमाडौं, १२ पुस  ।  प्रमुख प्रतिपक्षी एमालेसहितका नौ दलले संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गरिरहेका बेला सत्ता पक्षीय दलले प्रस्ताव अघि बढाउने निर्णय गरेका छन् ।

प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा बसेको सत्ता पक्षीय दलहरुले संशोधन विधेयक र चुनाव सम्बन्धी विधेयकलाई एकसाथ अघि बढाउने निर्णय गरेका हुन् । संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दै विपक्षी दलले फिर्ता वा स्थगन गर्न भनिरहेका बेला सत्ता पक्षको निर्णयसँगै राजनीतिक टकराव झन बढ्ने भएको छ ।

प्रस्तावको विरोधमा विपक्षी दलले संसद र सडकमा आन्दोलन गर्दै आएका छन् । मंसिर १४ गते प्रस्ताव दर्ता भएपछि बसेका संसद बैठक अवरुद्ध हुँदै आएका छन् ।

बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, मधेसी मोर्चा र संघीय गठबन्धमा आबद्ध शीर्ष नेताहरुको सहभागीता थियो । बैठकमा संविधान संशोधन, संसद सञ्चालन, स्थानीय चुनावका विषयमा छलफल भएको थियो ।

झण्डै चार घण्टा चलेको बैठकमा मधेसी मोर्चामा आबद्ध दलले संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका थिए । बैठकपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संशोधन पारित भए आफू चुनावका लागि तयार रहने जानकारी दिनुभयो ।