
बुटवल, १६ पुस । नेपाली काँग्रेसका कृयाशिल सदस्यहरु अर्जुनमान सैंजु र अनुपमान सैंजुका पिता बुटवल उपमहानगरपालिका वडा नम्बर ६ निवासी स्वर्गीय गणेशमान सैंजुको निधनमा नेपाली काँग्रेस वडा समितिले श्रद्धाञ्जली सभा गरेको छ ।
आज उहाँकै निवासमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सरकारका रक्षा मन्त्री बालकृष्ण खाँणले समाजका उदाहरणीय र अनुकरणीय व्यक्तिको निधन भएको चित्रण गर्नुभयो । उहाँले स्वर्गीय सैंजुले समाजमा ठूलो मान्छे बन्ने भन्दा पनि असल मान्छे बन्नकालागि प्रेरणा प्रदान गरेको बताउँदै उहाँले देखाएका बाटोमा हिड्नकालागि सबैमा उहाँबाट प्रेरणा प्राप्त भएको बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा सांसद अव्दुल रज्जाकले स्वर्गीय सैंजु हिन्दु धर्मका पक्षमा वकालत गरेपनि हिन्दु ईतरका धर्ममा कहिल्यै पनि हस्तक्षेप गर्ने काम नभएको उल्लेख गर्नुभयो । उहाँले स्वर्गीय सैंजुले देखाएको बाटोमा हिँड्न सकेमात्रै सच्चा श्रद्धाञ्जली हुने उल्लेख गर्नुभयो ।
त्यस्तै पूर्व सांसद विनोद पहाडीले स्वर्गीय समाजसेवी सैंजुले कुनैपनि पार्टीको सदस्यता नलिएर समाज सेवामा लाग्नु भएकाले पनि साझा व्यक्तिका रुपमा बुटवलकै नगर पिताको भूमिकामा रहेको स्मरण गर्नुभयो ।
वडा सभापति अरुणकुमार श्रेष्ठको सभापतित्वमा भएको श्रद्धाञ्जली सभामा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ४ का सभापति हरि लम्साल, बुटवल नगर सभापति खेलराज पाण्डे, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंह लगायतले समाजसेवी सैंजुले समाजमा उल्लेखनीय रुपमा राम्रा र प्रेरणा प्रदान गर्ने काम गरेको स्मरण गर्दै समाज सेवामा सधै उहाँको अभाव खड्कीरहने बताउनु भएको थियो ।
श्रद्धाञ्जली सभामा रामेश्वर श्रेष्ठले स्वर्गीय सैंजुको जीवनीको बारेमा चर्चा गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वडा सचिव गंगा पन्थीले गर्नुभएको थियो । बुटवल ६ निवासी समाजसेवी सैंजुको यहि पुसको १० गते बिहान उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा निधन भएको थियो ।