विभिन्न भ्रमण गर्नेको रोजाई पनि बुटवल मेला

1.3K

विभिन्न भ्रमण गर्नेको रोजाई पनि बुटवल मेला

आज पनि दर्शकको भिडभाड
बुटवल, १६ पुस । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा जारी औद्योगिक व्यापार मेलामा आज दिनभरी नै दर्शकको भिड रह्यो ।

शनिवार सार्वजनिक बिदालाई मद्यनजर गरेर मेलास्थलका अतिरिक्त बुटवलको राजमार्ग चौराहा मिलनचोक, गोलपार्क, योगिकुटी र होराइजनचोकबाट पनि टिकट बिक्रीको व्यवस्था गरिएको थियो । त्यस्तै मेलास्थलमा बनाइएको २ वटा आकस्मिक बाहिर निस्कने द्धार दिनभर खुल्ला गरिएको थियो ।

मेलामा बिभिन्न स्थानबाट शैक्षिक, औद्योगिक तथा अन्य बिभिन्न भ्रमणमा यस क्षेत्र आउनेहरुले समेत अवलोकन गरेका छन । त्यस्तै बिभिन्न स्थानका जिल्ला नगर उद्योग वाणिज्य संघ सहित अन्य व्यवसायिक संस्थाहरुले समेत मेलाको अवलोकन गरेका छन ।

आज नारायणघाट उद्योग वाणिज्य संघ, रत्ननगर उद्योग वाणिज्य संघ, कैलाली उद्योग बाणिज्य संघ, रुपन्देही उद्योग संघ लगायतका सस्थाका अध्यक्ष, पदाधिकारी सहितको टोलीले मेलाको सस्थागत अवलोकन गरेको छ । त्यसैगरी कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकाल सहित कपिलवस्तु जिल्लाका कार्यालय प्रमुखहरु, नवलपरासीका प्रमुख जिल्ला अधिकारी सहित बिभिन्न कार्यालयका प्रमुखहरुले पनि मेलाको अवलोकन गर्नु भएको छ ।

यसैगरी बिभिन्न राजनीतिक दलका नेताहरुले पनि मेलाको अवलोकन गर्नु भएको छ । नेकपा एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदी, कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांण, एमाओवादी नेता हरि घिमिरे, राप्रपा नेता पुनाराम पोख्रेलले पनि आज मेलाको अवलोकन गर्नु भएको छ । मेलाको अवलोकन पश्चात कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी ढकालले बुटवलको मेला प्रर्दशनी मुलुककै नमुना मेला भएको उल्लेख गर्दै यस्ता मेलाले मुलुकको आर्थिक बिकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो । उहाले निजी क्षेत्रले आयोजना गर्ने यस्ता गतिबिधिले सरकारी निकायलाई पनि सचेत र सजग बनाउने बताउनु भयो ।

यस्तै एमाले रुपन्देहीका अध्यक्ष सुवेदीले बुटवलको पर्वका रुपमा स्थापित भएको मेलालाई सफल बनाउने दायित्व सबै दल र बुटवलबासीको रहेको बताउनु भयो । उहाले आफनो पार्टी अहिले आन्दोलनमा रहेपनि मेलालाई असरपर्ने कुनै कार्यक्रम नगर्ने बताउनु भयो ।

युगल नृत्यमा रबि र सुनिताको जोडी प्रथम

मेलामा आज पनि बिभिन्न सांस्कृतिक कार्यक्रम र प्रतियोगिता भएका छन । यस क्षेत्रमा पहिलो पटक मेलामा युगल( श्रीमान श्रीमति) नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

यस क्षेत्रका ६ युगल (जोडी)ले भाग लिएको प्रतियोगितामा बुटवल ट्राफिकचोकका रबि थापा र सुनिता थापा गुरुङ्ग प्रथम, सैनामैना नगरपालिका वडा नम्वर ६ का सन्देश केसी र ज्योसना ढकाल केसी द्धितिय र सैनामैना नगरपालिका वडा नम्वर १ का पुष्कर भुसाल र उमा बेल्वासे तृतिय हुनु भएको छ ।

सिद्धिबिनायक फुड प्रोडक्टको प्रायोजनमा भएको प्रतियोगिताका बिजयीहरुलाई क्रमश १० हजार, ५ हजार र ३ हजार रुपैया नगद सहित पुरस्कृत गरिएको थियो ।