फर्सवा टाकुरा विद्यालयमा अक्षयकोष स्थापना

392

फर्सवा टाकुरा विद्यालयमा अक्षयकोष स्थापना

बुटवल, १६ पुस । अर्घाखाँचीको खिदिम–३ साधन बुट्टामा रहेको फर्सवा टाकुरा उच्च माध्यमिक विद्यालयमा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरिएकोे छ ।

विद्यालयमा पूर्व विद्यार्थी तथा न्यू लाइट कलेजमा प्रमुख रमेश ज्ञवाली र उहाँका भाई राजन ज्ञवालीले स्व. पिता माधवराज ज्ञवालीको स्मृतिमा कोषको स्थापना गर्नुभएको हो । विद्यालयका पूर्व शिक्षक रहनुभएका स्व. ज्ञवालीको स्मृतिमा स्थापित अक्षकोषबाट हरेक वर्ष कक्षा १० को परीक्षामा अगं्रेजी विषयमा उत्कृष्ट अकं ल्याउने विद्यार्थीलाई पुरष्कृत गरिने छ । विद्यालयको ४१ औं वार्षिक उत्सवको अवसरमा ज्ञवाली परिवारले उक्त अक्षय कोष स्थापना गरेका हुन । अक्षयकोषको रकम ५५ हजार ५ सय ५५ रहेको छ ।

विद्यालयका संस्थापक अध्यक्ष जीवनाथ गौतमको अध्यक्षता तथा अर्का संस्थापक सदस्य बाबुराम पोखरेलको प्रमुख आतिथ्यमा भएको वार्षिक उत्सव कार्यक्रममा विष्णु अर्याल, सुर्य के.सी,  मान बहादुर बि.क., निलकण्ठ गौतम, शारदा नेपाली, ओम प्रकाश भुषाल, बाबुराम भट्टराई, रमेश ज्ञवाली लगायतले सामुदायिक विद्यालयको गुणस्त्तर वृद्धिका लागि सामुहिक पहलको खाँचो औल्याउनुभयो ।

कार्यक्रममा विद्यालयका प्राचार्य मुक्तिनाथ ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने स्वागत शिक्षक नवराज पोखरेल र सञ्चालन बाबुराम बि.क.ले गर्नुभएको थियो ।