दश करोडको लगानीमा एभरेष्ट होटल

564

दश करोडको लगानीमा एभरेष्ट होटल

बुटवल, १७ पुस । बुटवलमा १० करोडको लगानीमा सुविधा सम्पन्न होटल सुभारम्भ भएको छ । व्यबसायी कृष्णप्रसाद सापकोटाको एकल लगानीमा बुटवलको राजमार्ग चौराहा नजिकै एभरेष्ट ईन्टरनेशनल डिलक्स होटल सञ्चालनमा आएको हो ।

आज पत्रकार सम्मेलन गरि औपचारिक रुपमा सुभारम्भ भएको सञ्चालक सापकोटाले बताउनु भयो । भैरहवामा बन्दै गरेको अन्तर्राष्ट्रिय बिमानस्थललाई लक्षित गरि होटलमा लगानी गरेको उहाँको भनाई छ । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वको पर्यटकीय केन्द्रको रुपमा बिकास हुँदैछ । त्यस्तै भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ । यी संगै यस क्षेत्रका पर्यटकीय क्षेत्रमा पर्यटकको अगमन बढ्ने तथा पूर्व पश्चिम र उत्तर दक्षिणको संगम स्थल पनि बुटवल भएकाले सबैकुराले उपर्युक्त ठानेर सुविधा सम्पन्न होटल सञ्चालन गरिएको उहाँले बताउनु भयो ।

करिव डेढ बर्ष अंघिदेखि होटल व्यबस्थापनको काम सुरु गरेपनि मुलुकमा उत्पन्न राजनीतिक घटनाक्रमले आफूले सोंचेको समयमा होटल सञ्चालन गर्न नसक्दा लगानी बढेको पत्रकार सम्मेलनमा सञ्चालक सापकोटाले बताउनु भयो । ढिलैगरी सञ्चालन सुरु गर्दा पनि होटेल व्यबस्थापनको पूर्ण तयारी भने भएको छैन । तत्कालकालागि होटल र रेष्टुरेन्टको सेवाबाट मात्रै होटल सुभारम्भ भएको छ ।

उक्त होटलमा तत्कालकालागि डिलक्स, सुपर डिलक्स र स्वीट डिलक्स ती प्रकारका २९ वटा कोठा छन् । जसको एक दिनको शुल्क एउटा कोठाको २ हजार पाँच सय रुपैंया देखि ७ हजार रुपैंया सम्म रहेको बताईएको छ । जसमा ईन्टरनेट वाईफाई सहितका सेवा प्रदान गरिनेछ । त्यस्तै नेपाली, चाईनिज, कन्टिनेन्टल सबैप्रकारका खानाको व्यबस्था गरिएको उहाँले बताउनु भयो । त्यस्तै १५० जना क्षमताको सेमिनार हल छ ।

आगामी फागुन मसान्त सम्ममा स्वीमिङ् पुल, ५ सय जना क्षमताको हल सहित पार्टी प्यालेस सञ्चालनमा ल्याउने र बैशाखमा ग्राण्ड ओपनीङ् गर्ने उहाँको तयारी छ । उक्त होटलमा तत्कालकालागि २५ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् भने लक्ष्य अनुसारको होटल पूरा भएपछि कम्तिमा ५०÷६० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिने उहाँले बताउनु भयो ।

पत्रकार सम्मेलनमा होटल तथा रेष्टुरेण्ट व्यबसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य बालाराम भट्टराईले सञ्चालनमा आएको होटललाई प्रतिस्पर्धी बनाउन सुझाव दिँदै भैरहवामा बन्दै गरेको अन्तर्राष्ट्रिय बिमान स्थल निर्माण भएपछि अहिले भएका होटलले धान्न नसक्ने भएकाले होटल व्यबसायमा गरेको लगानी खेर नजाने बताउनु भयो ।