रुपन्देहीमा दैनिक ७० हजार अण्डा उत्पादन

1.3K

रुपन्देहीमा दैनिक ७० हजार अण्डा उत्पादन

पोल्ट्री दिवसमा बिरामीलाई अण्डा
बुटवल, १७ पुस । चौंथो पोल्ट्री दिवसको अवसर पारेर लुम्बिनी अण्डा उत्पादक संघ रुपन्देहीले बिरामीलाई अण्डा तथा जुस वितरण गरेको छ ।

दिवसको दिन आज संघले लुम्बिनी अञ्चल अस्पतालमा उपचाररत बिरामीलाई अण्डा तथा जुस वितरण गरेको हो । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले मानव स्वास्थ्यका लागि अण्डा मासु भन्दा पनि स्वाथ्यवर्दक हुने बताएका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला पशुसेवा कार्यालय रुपन्देहीका पशु चिकित्सक डा. प्रदिप पौडेलले अण्डाको हरेक भागमा मानिसलाई आवश्यक पर्ने पौष्टिक तत्व भएकाले यसको प्रयोगमा जोड दिनुभयो । उहाँले सरकारले अण्डा, मासु र दुधमा मुलुकलाई आत्म निर्भर बनाउने गरी रणनीतिका साथ अँगाडी बढेको बताउँदै पछिल्ला दिनमा अण्डाको उत्पादनमा पनि बृद्धि भएको बताउनु भयो ।

अण्डाको उत्पादनमा नीजि क्षेत्रको योगदान उल्लेखनीय रहेको पनि उहाँको भनाई छ । त्यस्तै लुम्बिनी अञ्चल अस्पताल बुटवलका ईमर्जेन्सी विभागका डा. श्यामराज उपाध्यायले मासुमा भन्दा अण्डाको उपभोगमा जोड दिनुभयो । उहाँले अण्डाका हरेक भागमा पौष्टिक तत्व हुने भएको अण्डाको उपभोगलाई नियमित बनाउन सुझाव दिनुभयो ।

अण्डाको बाहिरी भाग (खपटा)मा साना साना छिद्र हुने भएकाले अण्डाको उत्पादन गर्दा सफासंग हुनुपर्ने बताउनु भयो । संघका अध्यक्ष आनन्द भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव प्रेमहरी तिमिल्सेना, बिक्रेता जीवन घिमिरे लगायतले अण्डाको उपभोगका फाईदाको बारेमा चर्चा गर्नुभएको थियो ।

अण्डा, मासु र दुधमा मुलुकलाई आत्मनिर्भर बनाउने रणनीति संगै अण्डामा मुलुक आत्म निर्भर भएको घोषणा सहित सरकारले २०७० मा पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने निर्णय गरेको थियो । हाल रुपन्देहीमा करिव ५० वटा अण्डा उत्पादनका व्यबसायिक फारम छन् भने दैनिक सरदर ७० हजार वटा अण्डा उत्पादन हुने अध्यक्ष भट्टराईले बताउनु भयो ।