पश्चिमाञ्चल यातायातमा पदहस्तान्तरण
बुटवल, १७ पुस । पश्चिमाञ्चल यातायात व्यवसायी समितिका नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई पद हस्तान्तरण गरिएको छ । १७ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनबाट टिकाराम गौतमको अध्यक्षतामा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई आज एक कार्यक्रमबीच पद हस्तान्तरण गरिएको हो ।
निःवर्तमान अध्यक्ष लोकराज पोखरेलको अध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा निर्वाचन अधिकृत महेन्द्र पाण्डेले नयां समितिलाई सपथ ग्रहण गराउनुभएको थियो ।
पदहस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले यातायात क्षेत्रको समस्यालाई निराकरण गर्न छुट्टै यातायात मन्त्रालय गठन गर्नुपर्ने बताउनुभयो । उहांले सरकारले यातायात क्षेत्रका समस्याहरुलाई पहिचान गर्न नसकेकाले छुट्टै यातायात मन्त्रालय गठन गरेर समाधानका उपायहरु खोज्न जरुरी रहेको बताउनुभयो ।
राज्यले यातायात क्षेत्रलाई उपेक्षा गरेको बताउंदै अध्यक्ष रानाभाटले अधिकारका लागि व्यवसायिक एकतामा जोड दिनुभयो । उहांले नीजि क्षेत्रको लगानीबाट चलेको यातायात क्षेत्रका समस्यालाई समाधान नगरेसम्म सहज रुपमा देश चल्न नसक्ने दावी गर्दै उचित प्रकारको यातायात नीति आवश्यक रहेको बताउनुभयो ।
समितिका नव निर्वाचित अध्यक्ष टिकाराम गौतमले यातायात क्षेत्रका समस्यालाई समाधान गर्न लागिपर्ने प्रतिवद्वता जनाउनुभयो । उहांले आफ्नो समितिको दुईवर्षे कार्यकाल व्यवसायीको हितमा विताउने बताउनुभयो । पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर के.सीले सबैको हितका लागि यस क्षेत्रका व्यवसायिक संघसंस्थाहरुलाई ट्रमा सेन्टर स्थापना गर्न सुझाव दिनुभयो ।
सोही कार्यक्रममा बोल्ने अन्य यातायात क्षेत्रसंग सम्बन्धित ब्यवसायीहरुले हरेक क्षेत्रको पेशागत सुरक्षाको जिम्मा राज्यले लिनुपर्ने बताए । भारतीय ट्रकसंग प्रतिष्प्रधा गर्न नसकिने बताउंदै उनीहरुले निर्वाध रुपमा ओभरलोड बोकेर आउने ट्रकलाई नियन्त्रण गर्न माग गरेका छन् ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी महासंघका सदस्य विरेन्द्र यादव, निर्वाचन अधिकृत महेन्द्र पाण्डे, समितिका पूर्व अध्यक्ष रामेश्वर श्रेष्ठ, वाणगंगा यातायात व्यवसायी समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, लुम्बिनी ट्रक यातायात व्यवसायी समितिका अध्यक्ष विष्णु खरेल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष कृष्ण कंडेल, रोडाढुँगा व्यवसायी संघका अध्यक्ष गोपाल ज्ञवाली, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी, सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद वेलवासे, यातायात मजदुर भलाई कोषका सचिव प्रकाश नेपाललगायतले यातायात ब्यवसायी र मजदुरका समस्या प्रति राज्य उदासिन रहेको बताउनु भयो ।
समितिका वरिष्ठ उपाध्यक्ष यमप्रसाद पाण्डेको स्वागत र कार्यालय प्रमुख बाबुराम अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।