
बुटवल, २१ पुस । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)केन्द्रीय कार्यालयका सदस्य परि थापाले विश्वकैं उत्कृष्ट भनिएको संविधानलाई नेपाली कांग्रेसले संशोधन हालेर संबिधान खारेज गरेको दावी गर्नुभएको छ ।
उहांले संविधान जारी गरेको केहीदिनमैं कांग्रेसले संशोधन हाल्नु उत्कृष्ट भनिएको संविधानको बर्खिलाप भएको टिप्पणी गर्नुभयो । क्रान्तिकारी पत्रकार महासंघ, रुपन्देही शाखाले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दैं नेता थापाले उक्त दावी गर्नुभएको हो ।
संबिधान हतारमा जारी गरिएको र त्यो संविधान जनताको पक्षमा नभएकाले खारेज गरेर जनसंविधान निर्माण गर्नुपर्नेमा उहांले जोड दिनुभयो । देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपालका केन्द्रीय सचिव समेत रहनुभएका उहांले राष्ट्रियता संकटमा परेकाले त्यसको रक्षाका लागि क्रान्तिकारी माओवादीसहित तीन कम्युनिष्ट पार्टीबीच कार्यगत एकता भएको उहांले बताउंनुभयो ।

संसदीय व्यवस्था मुल्यहिन बन्दैं गएकाले मुलुकमा भ्रष्ट्राचार सस्थागत बन्दैं गएको उहांले दावी गर्नुभयो । दलका नेताहरुको आत्मसमपर्णबादी नीतिका कारण देश विदेशीको गोटी बनेको भन्दैं राष्ट्रियताको रक्षाका लागि क्रान्तिकारी कम्युनिष्टहरुबीच धु्रबिकरण हुंन जरुरी रहेको उहांले बताउंनुभयो ।
पूर्व सांसद समेत रहनुभएका उहांले धर्म र जातको नाममा राजनीति गर्नु पाखण्डीपन भएको आरोप लगाउंनुभयो । जनता र देशका हितको लागि सरकार बनाउंने र ढाल्ने भन्दापनि दलका नेताहरुले पालो पु¥याउंनका लागि सरकार ढाल्ने र बनाउंने खेल खेलिरहेको नेता थापा बताउंनुभयो । नेता थापा पार्टीको मध्य–पश्चिम कमाण्ड र राज्य समिति बैठकका लागि बुटवल आउंनुभएको हो ।
कार्यक्रम महासंघका अध्यक्ष टेकबहादुर मास्कीरानाको अध्यक्षता र सचिव मानबहादुर कुंवरको सञ्चालनमा सम्पन्न भएको थियो ।