बुटवल, असोज । विगतका दशैंमा सवारी साधन थप्ने पश्चिम नेपाल बस व्यबसायी संघले यो दशैंमा भने सवारी साधन कटौती गरेको छ ।
मुलुकमा भएको ईन्धन अभावको कारण सवारी साधनको संख्या ह्वात्तै घटाउनु परेको संघका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरेले बताउनु भयो । सहज रुपमा ईन्धनको आपूर्ति हुँदासम्म समिति मातहतका दैनिक १ हजार ३ सय ७६ सवारी साधन सञ्चालन हुँदै आएको थियो । तर यस क्षेत्रकै सबैभन्दा ठूलो पश्चिम नेपाल बस व्यबसायी संघले अहिले दैनिक करिव ५ सय मात्रै यात्रुवाहक सवारी साधन सञ्चालनमा रहेको संघले जनाएको छ ।
विगतका वर्षमा नियमित रुपमा सञ्चालन हुने बाहेक करिव ५ सय बस थप गर्ने गरेको थियो । तर यो वर्ष भारतले नेपाल मागि गरेको अघोषित नाकाबन्दीका कारण ईन्धन अभावका कारण नियमित सञ्चालन गर्ने सवारी साधन समेत कटौती गर्नु परेको हो ।
जिल्ला प्रशासन कार्यालयले अहिले पश्चिम नेपाल बस व्यबसायी समितिलाई दैनिक २२ हजार लिटर ईन्धन उपलव्ध गराएको छ । संघलाई नियमित सञ्चालन हुने सवारी साधनकालागि मात्रै ५५ हजार लिटर तेल आवश्यक हुने वरिष्ठ उपाध्यक्ष घिमिरे बताउनु हुन्छ । प्रशासनले उपलव्ध गराएको २२ हजार लिटर पनि कागजमा मात्रै आउने गरेको बताउँदै १४÷१५ हजार लिटर भन्दा बढी संघले प्राप्त नगरेको उहाँले गुनासो गर्नुभयो ।
प्रशासनले यात्रुवाहक, खत्यावश्यकीय खाध्यान्न तथा औषधीलाई प्राथमिकतामा राखेर सोही अनुसार ईन्धनको व्यबस्थापन गरेको छ ।
त्यस्तै पश्चिमाञ्चल यातायात समिति मातहत ईन्धन सहज हुँदा करि साढे ३ सय ट्रक सञ्चालन हुन्थे, अहिले जम्मा ५०÷६० जटा मात्रै ट्रक सञ्चालन भएको पश्चिमाञ्चल यातायात व्यबसायी समितिका कार्यालय प्रमुख बाबुराम अधिकारीले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयले खाध्यान्न तथा औषधीलाई प्राथमिकतामा राखेर ढुवानी गर्न भन्दै समितिलाई दैनिक ७ हजार ५ सय लिटर तेल उपलव्ध गराएको छ र त्यसले व्यबसायीलाई धेरै मार खेप्नु परेको उहाँले बताउनु भयो ।
इन्धनको अभावका कारण यात्रुवाहक तथा मालवाहक सवारी साधनमा व्यापक कटौती हुँदा यात्रुहरु मर्कामा परेका छन । त्यस्तै प्रयाप्त मात्रामा ढुवानी नभएका कारण बजारमा कालोबजारी मौलाउन थालेको छ ।