बार्षिकोत्सवको अवसरमा जनउत्थानद्वारा साइकल दौड

1.3K

बार्षिकोत्सवको अवसरमा जनउत्थानद्वारा साइकल दौड

कोटिहवा, २२ पुस । जनउत्थान बचत तथा ऋण सहकारी संस्था कोटिहवा रुपन्देहीले आज खुला साइकल दौड प्रतियोगिता गरेको छ । भोलि हुने संस्थाको ११ औं वार्षिकोत्सवको अवसरमा आज खुला साइकल दौड प्रतियोगिता आयोजना भएको हो ।

पछिल्लो समय युवाहरु साइकल भन्दा मोटरसाइकलमा बढी रुची देखाएको अवस्थामा साइकल चढौं स्वस्थ रहौं भन्ने नाराका साथ युवाहरुलाई साइकल चलाउन अभिप्रेरित गर्न साइकल दौड प्रतियोगिता राखिएको संस्थाका अध्यक्ष मेखराज पुनले जानकारी गराउनु भयो ।

प्रतियोगिताको उद्घाटन गर्दै डिभिजन सहकारी कार्यालय रुपन्देहीका प्रमुख नेत्र प्रसाद घिमिरेले यस सहकारीले बचत उठाउने र ऋण लगानी मात्र नगरी सहकारीको समुदाय प्रति चासो भन्ने सिद्धान्तमा आधारित विभिन्न सामाजिक कृयाकलापहरु गर्दै आइरहेकोमा संस्थालाई धन्यवाद दिनुभयो ।

प्रतियोगितामा एक जना महिला सहित २९ जना युवा प्रतिस्पर्धिहरुको सहभागिता थियो । प्रतियोगितामा ३० किलो मिटर गाउ गाउको बाटो प्रयोग गरिएको थियो ।

प्रतियोगितामा पन्नीलाल केवट (तिलोत्तमा १९ रगरगन्ज) प्रथम, सुन्दर केवट (तिलोत्तमा १९ रगरगन्ज) द्वितीय र राजु चौधरी (तिलोत्तमा १७ मडाहा) तृतीय हुनु भएका छन् । प्रथम हुनेले एक घण्टा ९ मिनेटमा, द्वितीय हुनेले एक घण्टा ११ मिनेटमा र तृतीय हुनेले एक घण्टा १३ मिनेटमा उक्त दूरी पार गरेका थिए । प्रतियोगितामा प्रथम हुनेलाई सात हजार द्वितीय हुनेलाई पांच हजार र तृतीय हुनेलाई तीन हजार पुरस्कार रहेको छ ।

सबै सहभागीहरुलाई जनही एक वटा टिसर्ट प्रदान गरिएको थियो । प्रतियोगिताका विजेताहरुलाई भोलि २३ गते पशुपति उच्च मा.वि. कोटिहावामा हुन गइरहेको जनउत्थान महोत्सवमा पुरस्कार वितरण गरिनेछ ।

संस्थाले गरिब तथा जेहन्दार छात्रवृत्ती, चर्पी निर्माणमा आर्थिक अनुदान, विद्यालय अक्षयकोष सहयोग, युवा विकास अक्षय कोष सहयोग, बाख्रा पालकलाई निब्र्याज ऋण सहयोग जनाएको छ ।

२०६२ पुस १ गते डिभिजन सहकारी कार्यालय रुपन्देहीमा दर्ता भएको यस संस्थामा हाल आठ हजार चार सय  १३ जना शेयर सदस्यहरु र २० जना कर्मचारीहरु छन् । संस्थाको कुल पूंजी करिब ७२ करोड छ । संस्थाले यस आर्थिक वर्ष २०७३/७४ को अन्त्य सम्ममा १० हजार शेयर सदस्य र ८३ करोड कुल पूजी पु¥याउने लक्ष्य लिएको छ ।

संस्थाको व्यवस्थापक रनबहादुर थापा हालै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेप्mस्कून)को २५ औं साधारण सभा २०७३ को अवसरमा आर्थिक वर्ष २०७२/७३ को लागि नेपालको बचत तथा ऋण सहकारी संस्था (साकोस) अभियानको उत्कृष्ट व्यवस्थापक पुरस्कारबाट सम्मानित हुनु भएको थियो ।