
बुटवल, २३ पुस । रुपन्देही सेवा समाज इजरायलले असहाय, गरिव तथा विपन्न वर्गका वालवालिकालाई ४५ हजार आर्थिक सहयोग गरेको छ ।
सामाजिक क्षेत्रमा आर्थिक र भौतिक सहयोग उपलब्ध गराउंदै आएको समाजले गरिव तथा विपन्न वर्गका वालवालिकाको उज्वल भविष्य सुनिश्चितताका लागि आर्थिक सहयोग गरेको हो ।
रुपन्देहीको विभिन्न ठाउंबाट वैदेशिक रोजगारीका लागि इजरायलमा रहेका नेपालीले स्थापना गरेको समाजले आज बुटवल–१५ बेलवासमा अवस्थित रुपन्देही–कपिलवस्तु सामाजिक संस्था (कर्सो) नेपालको संरक्षणमा रहेका वालवालिकाहरुलाई आर्थिकसहित खाद्यान्न सहयोग गरेको छ ।
वालवालिकाको पालन पोषण, शिक्षा, स्वास्थ्यका लागि रुपन्देही सेवा समाज इजरायलका सल्लाहकार कल्पना चापागाईं र गैर आवासीय नेपाली संघका वरिष्ठ उपाध्यक्ष विशाल ज्ञवालीले बेलवासमा आयोजित एक कार्यक्रमका बीच ४५ हजार नगद कर्सो नेपालका अध्यक्ष खिमानन्द पौडेललाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघका वरिष्ठ उपाध्यक्ष ज्ञवालीले आफ्नै जन्मभूमिमा केही गर्नुपर्छ भन्ने भावनाका साथ वालवालिकाको भविष्यका लागि सहयोग प्रदान गरिएको बताउनुभयो ।
उहांले वालवालिकाको भविष्य र संस्थागत विकासका लागि आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । समाजका सल्लाहकार कल्पना चापागाईंले सेवा नै धर्म हो भन्ने पवित्र भावनाका साथ इजरायलमा मजदुरी गर्ने साथीहरुले पैसा उठाएर आफ्नै देशका गरिव तथा विपन्न वर्गका वालवालिकाको उज्वल भविष्यका लागि सहयोग गरिएको बताउनुभयो ।
उहांले देशभरका अनाथ तथा गरिव विद्यार्थी, वृद्ववृद्वा, उपचार गर्न नसकेका असहायहरुलाई सहयोग गर्न आफुहरु तयार रहेको समेत वताउनु भयो । सेवा समाजले यसअघि सुुस्त बाल बिद्या मंन्दिर सैनामैना रामपुरलाई सैनामैन मा रु १ लाख १० हजार, आत्म शान्ति अनाथ आश्रम माणिग्रामलाई रु ५१ हजार, देबदह अपाङ्ग संस्था लाई रु १ लाख र बुटवल देबीनगर अपाङ्ग तथा दृष्टिविहीन संस्थालाई रु ४० हजार आर्थिक सहयोग गरिसकेको छ ।
सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत रामप्रसाद अर्यालले सहयोगको अभियानलाई बढाउन आग्रह गर्दै स्वदेशको बारेमा चिन्तन मनन् गरेर समाज सेवामा जुट्न आग्रह गर्नुभयो । कर्सो नेपालका अध्यक्ष खिमानन्द पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार खिमानन्द भट्टराई, रुपन्देही सेवा समाज इजरायलका सदस्य कृष्ण चापागाई, ंशिक्षिका रमा शर्मा, ईन्जिनियर छविन्द्र भट्टराई, महिला मञ्च नेपालकी अध्यक्ष मधुकला कुंवर, हिरा वराल, लक्ष्मण मरासिनी लगायतले बोल्दै सहयोग रकमको सहि सदुपयोग गर्न आग्रह गर्नु भएको थियो ।
वालवालिका र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको कर्सोले नयांगाउं उच्च माध्यमिक विद्यालयमा ५ जना र जितेश्वरी माविमा ५ जना असहाय तथा गरिव वालवालिकालाई पढाउंदै आएको छ । रुपन्देही सेवा समाज इजरायलका सल्लहकार कल्पना चापागाईको अध्यक्षता र कर्सो नेपालका शिवलाल उपाध्यायको सञ्चालनमा कार्यक्रम भएको थियो ।