ग्यास बिक्रेता आन्दोलनमा

1.3K

ग्यास बिक्रेता आन्दोलनमा


बुटवल, २४ पुस । ग्यास उद्योगले दिंदै आएको कमिसन घटाएको भन्दै यस क्षेत्रका ग्याँस विक्रेताले आन्दोलन सुरु गरेका छन् । नेपाल आयल निगमले यही पुसको १७ गतेदेखि लागुहुनेगरी ग्याँसको उपभोक्ता मुल्य निर्धारण गरेपछि उद्योगले विक्रेतालाई दिँदै आएको कमिसन घटाएको थियो ।

निगमले ग्यासको उपभोक्ता मुल्यमा घटाएर १ हजार ३ सय ५ रुपैंयाँ कायम गरेकोमा भने ग्याँस विक्रेताले स्वागत गरेका छन् । उद्योगले विक्रेतालाई प्रति सिलिण्डर ५० रुपैंया कमिसन दिंदै आएकोमा अहिले १८ रुपैंयाँ घटाएर ३२ रुपैंयाँमा झारेको छ । आफूहरुले पाउँदै आएको कमिसन घटाएकाले त्यसको बिरुद्ध संघर्ष गर्नु परेको ग्यास विक्रेता संघ बुटवलका महासचिव नारायण खनालले बताउनु भयो ।

उहाँले आफूहरुले पाउँदै आएको कमिसन पुनः कायम नहुँदा सम्म आफूहरुको आन्दोलन जारी रहेने बताउनु भयो । ग्यास विक्रेता संघ रुपन्देहीले सुरु गरेको आन्दोलनमा कपिलबस्तु, नवलपरासी र पाल्पाले पनि साथ दिएका छन् । ग्याँसमा दिंदै आएको कमिसन घटाएपछि यी चार जिल्लाका विक्रेताले उद्योगबाट ग्यास नउठाएको उहाँले बताउनु भयो ।

दिंदै आएको कमिसन घटाएको बिरोधमा आईतबार र सोमबाट ग्यास नउठाउने, यहि पुसको २६ देखि २९ सम्म बिहान १० देखि ५ बजेसम्म उद्योगमा धर्ना दिने, माघको एक देखि ३ गतेसम्म यस बाहेकका जिल्लामा पनि ग्यास उठाउन या पठाउन नदिने र त्यति गर्दा पनि आफूहरुको माग पुरा नभएर उद्योगहरुमा ताला लगाउने ग्यास विक्रेता संघ रुपन्देही सहित आवद्ध संघर्ष समितिले आन्दोलनका कार्यक्रम तय गरेको छ ।

ग्यास विक्रेता संघ रुपन्देहीका अध्यक्ष एवं संयुक्त संघर्ष समितिका संयोजक बसन्त गौचलनले आईतबार एक विज्ञप्ती जारी गरी आफूहरुको माग पुरा नहुँदा सम्म आन्दोलन नरोकिने बताउनु भएको छ ।