व्यवसायी पौडेल वेपत्ता

409

व्यवसायी पौडेल वेपत्ता

बुटवल, २६ पुस । बुटवल देवीनगरमा बसोबास गर्दै आएका व्यवसायी दुर्गा प्रसाद शर्मा (पौडेल) तीन दिन देखि वेपत्ता भएका छन् ।

गुल्मी जिल्ला बडागाउँ गा. वि. स. वडा नं. ७ ठूलाचौर स्थायी घर भएका अन्दाजी ४० वर्षिय पौडेल यही पुस २३ गते राति १० बजेदेखि सम्पर्कविहीन भएका हुन् । उनी न्यू पौडेल सप्लायर्सका सञ्चालक हुन् ।

वेपत्ता हुनुअघि २३ गते राति पौने १० बजेसम्म पौडेल देवीनगरस्थित तिनाउ बोर्डिङ स्कूल अगाडि रहेको एभरेष्ट होटलमा साथीहरुसंग तास खेल्दै थिए । घरबाट श्रीमतीको फोन आउंदा केहीबेरमा आउंछु भनेका पौडेल १० बज्दापनि घर नगएपछि र मोबाइल पनि स्वीचअफ भएपछि उनी वेपत्ता भएको पत्ता लागेको हो ।

उनी सम्पर्कविहीन भएको तीन दिन बित्दा पनि कहां छन् भन्ने पत्ता लाग्न नसक्दा परिवारजन चिन्तित बनेका छन् । पौडेलसंगै त्यो दिन देवीनगरकै लोकबहादुर महत, मुमबहादुर कुंवर, उदय मल्ल र आशिष बस्नेतसंगै बसेर तास खेलेका थिए ।

उनीहरुले पौडेल कहां हराए भन्ने जानकारी नभएको प्रहरीसमक्ष बताएका छन् । पौडेलको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले बताए । पौडेलका एक श्रीमती, एक छोरा र दुई छोरी छन् । श्रीमान् सम्पर्कविहीन भएपछि श्रीमती तारा पौडेल र नाबालक छोराछोरी चिन्ताले पिरोलिएका छन् ।

पौडेलले ट्याक्टरबाट सामान ढुवानी र ट्याङकरबाट खानेपानी सप्लाई गर्ने व्यवसाय गर्दै आएका थिए । उनी माओवादी केन्द्रका कार्यकर्ता समेत थिए ।