राष्ट्रिय गौरवका आयोजना प्राथमिकतामा : खनाल

1.3K

राष्ट्रिय गौरवका आयोजना प्राथमिकतामा : खनाल

 

बुटवल, २६ पुस । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनाल ‘वलदेव’ले राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।

आज बुटवलमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै खनालले राष्ट्रिय गौरवका आयोजना पुरा गरेर जनतालाई राहत दिने सरकारको तत्कालको योजना रहेको भन्दै ती आयोजनामा अनुगमन भइरहेको पनि उल्लेख गर्नुभयो । अहिले १९ वटा राष्ट्रिय गौरवका आयोजनामा अनुगमन भइरहेको र निर्धारित समयमै ती आयोजनका काम पुरा गर्न सरकारले पहल थालेको उहाँले बताउनुभयो ।

उहाँले मेलम्चीको पानी आगामी भदौसम्म काठमाडौं आइपुग्ने पनि उल्लेख गर्नुभयो । उर्जाको क्षेत्रमा सरकारले धेरै सुधारका काम गरिरहेको भन्दै नेता खनालले विद्युत चुहावट रोेक्दा मात्र पनि धेरै हदसम्म लोडसेडिङ कम भएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले आन्तरिक चुहावटलाई मात्र रोक्दा पनि लोडसेडिङ कम भयो, दुई वर्ष मात्र काम गर्न पाए १० हजार मेगावाट विद्युत बेच्न सक्ने अवस्था हुन्छ ।’

कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलका अध्यक्ष खेम श्रीस, निवर्तमान अध्यक्ष खेमनारायण पराजुली, उपाध्यक्षद्धय प्रविण पाठक र गोविन्द गैरे, महासचिव सिताराम रसाईली लगायतले उद्योग व्यापार क्षेत्रका समस्याबारे जानकारी गराउनुभएको थियो । जवाफमा नेता खनालले नीतिगत रुपमै यावत समस्याहरुको समाधानको लागि पहल गर्ने आश्वासन गर्नुभयो ।

यसैबीच नेता खनालले नेपालमा ७० प्रतिशत कम्युनिष्ट भएपनि बाँकी ३० प्रतिशतकै हालिमुहाली देशमा रहेको टिप्पणी गर्नुभएको छ । नेकपा माओवादी केन्द्र क्षेत्र नं. ४ ले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता खनालले यस्तो बताउनुभएको हो । कम्युनिष्टहरु मिल्न सके एउटै कम्युनिष्ट शक्ति केन्द्र बन्न सक्ने उहाँले तर्क गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका नेताहरु दधिराम न्यौपाने, रामप्रसाद बन्जाडे, अनुप बराललगायतले सम्बोधन गर्नुभएको थियो ।