आर्थिक विकासकालागि सुरक्षाको राम्रो व्यवस्था हुनु पर्छ : आईजिपी राई

1.3K

आर्थिक विकासकालागि सुरक्षाको राम्रो व्यवस्था हुनु पर्छ : आईजिपी राई

बुटवल २६ पुस । सशस्त्र प्रहरी महानिरिक्षक दुर्जकुमार राईले मुलुकको आर्थिक विकास, उन्नती र प्रगतिका लागि सुरक्षाको राम्रो व्यवस्था हुनु पर्ने बताउनु भयो ।

जुन मुलुकमा शान्ति सुरक्षाको राम्रो प्रबन्ध हुन्छ त्यो राष्ट्रले प्रगती गरेको हुन्छ भन्दै सशस्त्र प्रहरी महानिरीक्षक राईले उद्योग, कल कारखाना, विश्व विद्यालय , व्यापार फष्टाउनका लागि देशमा शान्ति सुरक्षाको स्थिती राम्रो हुनु पर्नेमा जोड दिनु भयो ।

सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गुल्म बुटवलको नव निर्मित भवनहरुको आज बुटवलको रानीगंजमा उदघाटन गदैं उहाँले दक्षिणको १८ सय २५ किलोमिटर र उतरको १५ सय ६८ किलो मिटर क्षेत्रफल भित्र संचालन हुने उद्योग, कलकारखाना, तिनीहरुका संचालक र कामदारलाई सुरक्षा प्रदान गर्नु आफनो संगठनको दाईत्व र कर्तव्य भएकाले सोही अनुसार काम गर्न मातहतका सशस्त्र प्रहरीहरुलाई निर्देशन दिनु भयो ।

जनताले तिरेको करवाट प्रहरी संगठन चलेको बताउदै उहाँले नेपाली जनताको सेवक भएर काम गर्न सशस्त्र प्रहरीलाई आग्रह समेत गर्नु भयो । सिमित साधन स्रोत्तवाट प्रहरी संगठनको भौतिक पूर्वाधार बनाउदै गएको वर्तमान अवस्थामा प्रहरीले साधन र स्रोत्तको अभावमा पनि जनताको काम गर्न पछि पर्न नहुने उहाँले सोही समारोहमा स्पष्ट पार्नु भयो ।

सशस्त्र नायवमहानिरिक्षक नरेन्द्र कुमार सिंहले भौतिक पूर्वाधारमा आत्म निर्भर बनाउदै परिर्वर्तित समय अनुसार देखिएका चुनौतिलाई सामना गर्न सशस्त्र प्रहरी बल तयार हुनु पर्नेमा जोड दिनु भयो । सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गुल्म बुटवलका प्रमुख प्रकाश थापाले नव निर्मित भवनमा १ करोड ८१ लाख ७५ हजार ३ सय ८५ रुपैयाँ खर्च भएको बताउनु भयो ।

गुल्मका सशस्त्र प्रहरी निरिक्षक सुरज पाण्डेले कार्यक्रम संचालन गनु भएको थियो ।