
बुटवल, २७ पुस । माघ १ गते योग दिवसका दिन बुटवलमा योग शिविर गर्ने तयारी गरिएको छ । जिल्ला शिक्षा कार्यालयको नेतृत्वमा बिभिन्न शैक्षिक तथा सामाजिक संघसंस्थाको अग्रसरतामा योग शिविर सहित दिवस मनाउने तयारी गरिएको हो ।
कार्यक्रम गर्नकालागि रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाको संयोजकत्व तथा नेपाल शिक्षक महासंघ, हिसान, प्याब्सन, एन प्याब्सन तथा सरोकारवाला संघ संस्थाको समन्वयमा तयारी गरिएको आज जिल्ला शिक्षा कार्यालय रुपन्देहीले बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
दिवसको अवसरमा पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलमा गर्न लागिएको योग शिबिरमा योग गुरु गोब्रती योगी सोमराज जी महाराजले योग प्रशिक्षण गर्नुहुने छ ।
त्रयम्वकम् जडीबुटी सहकारी संस्था, पतञ्जली योग समिति रुपन्देहीको व्यबस्थापनमा हुने उक्त कार्यक्रममा रुपन्देही जिल्लाका बिद्यालयहरुमा अध्ययन गर्ने ६ देखि १२ कक्षा सम्मका बिद्यार्थी तथा शिक्षक शिक्षिका गरि दश हजार जना सहभागि हुने अपेक्षा गरिएको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले बताउनु भयो ।
पत्रकार सम्मेलनमा योग गुरु गोब्रती योगी सोमराज जी महाराजले स्वास्थ्य जीवनयापनकालागि योग अति आवश्यक रहेको बताउनु भयो । योगका माध्यमबाट बिद्यार्थीलाई नैतिक शिक्षा पनि प्रदान हुने भएकाले बिद्यालय स्तरमा प्रदान गरिने योग शिबिर प्रभावकारी हुने पतंजली योग समिति रुपन्देहीका अध्यक्ष लोकन्द्र न्यौपानेले बताउनु भयो ।
योग मिसन नेपालले माघ १ गते योग दिवस मनाउँदै आएको थियो । २०७१ साउन २८ गतेको मन्त्रीपरिषदको बैठकले माघ एक गतेलाई राष्ट्रिय योग दिवसको रुपमा मनाउने निर्णय गरेपछि औपचारिक रुपमा माघको १ गते योग दिवस मनाउन थालिएको छ ।