ट्रेड युनियन काँग्रेसको सदस्यता अध्यावधिक अभियान

1.3K

ट्रेड युनियन काँग्रेसको सदस्यता अध्यावधिक अभियान

बुटवल, २९ पुस । नेपाल ट्रेड युनियन काँग्रेसले सदस्यता व्यबस्थित गर्ने अभियान सञ्चालन गरिरहँदा रुपन्देहीमा पनि सदस्यता अध्यावधिक गर्ने काम तिव्र रुपमा अँगाडी बढाईएको छ । नेपाल ट्रेड युनियन काँग्रेसले सदस्यता चुस्त, दुरुस्त गराउँदै व्यबस्थित गर्नकालागि सदस्यहरुको पूरा विवरण संकलन गर्ने काम गरिरहेको छ । सोही अनुसार रुपन्देही जिल्ला समितिले पनि सदस्यता अध्यावधिक गर्ने कामलाई तदारुक्तासाथ अँगाडी बढाईएको जिल्ला नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार जिल्लाका सम्पूर्ण आवद्ध संस्थाहरुलाई सदस्यता अध्यावधिक फारम पठाईसकिएको र माघको २० गते भित्रै भरेर पठाउन आग्रह गरिएको छ । माघको अन्तिम सम्ममा अध्यावधिक फारम पठाउन नसके सदस्यता अध्यावधिक पनि नहुने र आगामी महाधिवेशनमा भाग पनि लिन नपाउने केन्द्रले जनाएको छ ।

नेपाल ट्रेड युनियन काँग्रेसमा २५ वटा आवद्ध संस्था छन् । रुपन्देहीमा नेपाल शिक्षक संघ, नेपाल सार्वजनिक सेवा कर्मचारी संघ, नेपाल बित्तिय संस्था कर्मचारी संघ, नेपाल प्रेस युनियन, नेपाल खारखाना श्रमिक संघ, नेपाल यातायात मजदुर संघ, नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ, ईम्ब्रोईडरी तथा सिलाई बुनाई, छापाखाना तथा सम्वद्ध, होटल श्रमिक संघ, व्यापार तथा सम्वद्ध, भन्सार तथा सम्वद्ध, रिक्सा तथा ठेला, कृषि, घर स्थित लगायत १९ वटा संस्था आवद्ध रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

यी आवद्ध संस्था मातहत पाँचौं महाधिवेशनमा रुपन्देहीबाट १२ हजार ५ सय जनाले सहभागिता जनाएका थिए । नेपालकै पुरानो मजदुर संगठन नेपाल ट्रेड युनियन काँग्रेसको पाचौं महाधिवेसनमा नेपाल अधिराज्य भरिमा भने करिव ढाई लाख सदस्य रहेको केन्द्रीय समितिले जनाएको छ । तर अहिले अधिराज्य भरी नै सदस्यता अध्यावधिक गर्ने काम सुरु गरिएकाले संख्यामा केही तलमाथि हुन सक्ने नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष गणेश निरौलाले बताउनु भएको थियो ।

संस्थालाई चुस्त दुरुस्त बनाउनकालागि सदस्यता अध्यावधिक गर्ने काम राम्रो भएपनि अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरका अध्यावधिक गर्न केही जटिलता भने छ । संस्थागत हैसियत, सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्न सहजता, फर्जि सदस्यता खारेजी लगायतका काममा यो अभियानले प्रभावकारी भुमिका भने खेल्न सक्नेछ । सदस्यता अध्यावधिक भएको खण्डमा फर्जि सदस्यता विस्तार गराई महाधिवेशनमा आफू अनुकुल नेतृत्व चयन गर्ने भूमिका पूर्ण रुपमा निस्तेज हुने भएकाले पनि सदस्यता अध्यावधिक गर्न अपरिहार्य देखिन्छ ।

आगामी भदौ महिनामा छैठौ महाधिवेशनको मिति तय गरेको नेपाल ट्रेड युनियन काँग्रेसले चैतको अन्तिम हप्ता या बैशाखको पहिलो हप्तासम्म जिल्ला अधिवेशन गराउने तयारी गरेको बुझिएको छ । त्यसकालागि पनि आवद्ध संस्थाहरुको सदस्यता अध्यावधिक गराई माघ महिना भित्रै केन्द्रमा पठाउने हो भने त्यसले जिल्लामा पनि राम्रै प्रभाव पार्ने देखिन्छ । अझै युनियनले सदस्यता अध्यावधिक गरेपछि फियरिस्त रुपमा वेवसाईडमा राख्ने कामले त संस्थागत बिकासकालागि पनि उल्लेखनीय रुपमा प्रभाव पार्ने देखिन्छ ।

नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले समयमै सदस्यता अध्यावधिक गर्नकालागि आवद्ध संस्थाहरुलाई आग्रह गरेको छ । शुक्रबार बसेको बैठकले औपचारिक तथा अनौपचारिक क्षेत्रका मजदुर नेतालाई छुट्टाछुट्टै बाककला तालिम प्रदान गर्ने निर्णय समेत गरेको छ ।