
बुटवल, २९ पुस । मोफसलकै ठूलो पुरस्कार राशीको राष्ट्रव्यापी एकल नृत्य प्रतियोगिता ‘अल नेपाल डान्स च्याम्पियनसीप’को फाइनल भोलि शनिबार हुंदैछ ।
बुटवल १३ देवीनगरस्थित एन्फा एकेडेमीको रंगशालामा दिउसो हुने फाइनलमा २२ जनाले उपाधि जित्न आफ्नो नृत्य कला देखाउने छन् । बागेश्वरी संगीतालय बुटवलको आयोजनामा गत कार्तिकदेखि शुरु भएको प्रतियोगिताको फाइनलमा जुनियरतर्फ १० जना र सिनियरतर्फ १२ जनाले उपाधिको लागि प्रतिस्पर्धा गर्दैछन् । शनिबार दिउसो ५ बजेदेखि शुरु भई ९ बजेसम्म चल्ने कार्यक्रमको तयारी पूरा भएको आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराए ।
प्रतियोगितामा ‘नो भोट, नो एसएमएस’ प्रावधान राखिएकाले निर्णायकको निर्णयका आधारमा नतिजा घोषणा हुने छ । फाइनलमा पुगेका प्रतियोगी सबैले फरक फरक गीतमा एउटा–एउटा नृत्य प्रस्तुत गर्नेछन् । फाइनल प्रतिस्पर्धालाई उत्कृष्ट र भव्य बनाउन प्रतियोगिताको निर्णायकको रुपमा मुम्वईवाट चर्चित कलाकार टेरेन्स लुईस पहिलोपटक बुटवल आएका छन् ।
टेरेन्स भारतका सबैभन्दा लोकप्रिय र महंगा डान्स कोरियोग्राफर हुन् । उनले डिआईडी जस्ता चर्चित प्रतियोगितामा समेत मुख्य निर्णायकको भूमिका निभएका छन् । उनको डान्स स्कुल मुम्बईकै सबैभन्दा ठूलो हो । यस्तै कार्यक्रमको उद्घोषण चर्चित नायिका निशा अधिकारी र गोपाल अधिकारीले गर्नेछन् ।
ग्राण्ड फिनालेमा २२ जना प्रतियोगीवाहेक नृत्यकर्मी संघ, बागेश्वरी संगीतालय र अन्य कलाकारले थरिथरिका नृत्य पस्केर दर्शकलाई मनोरन्जन दिनेछन् ।
फाइनल कार्यक्रममा करिब १० हजार बढी दर्शक उपस्थित गराउने लक्ष्य रहेको आयोजक संस्था बागेश्वरी संगीतालयका प्रिन्सिपल सुरेश सेन्चुरीले बताए । यस्तो प्रतियोगिता बुटवलमा हालसम्मकै ठूलो र भब्य हो । कार्यक्रमको सहआयोजकको रुपमा नृत्यकर्मी संघ बुटवलसहित विभिन्न क्लब र संघसंस्था गरी एक दर्जन छन् ।
उपाधिका लागि सिनियरतर्फ रुपन्देहीका गोपाल बुढामगर,पाल्पाका सुदीप रानामगर, मकवानपुरका अशोक स्याङताङ, काठमाडौंका सुजन मार्पा, झापाकी अनुजा अग्रवाल, धरानकी केविका खत्री, धनगढीका निखिल विक, धनगढीकै हिक्मत शाही, झापाका प्रताप सुनुवार, दमौलीका प्रविन जीसी, बुटवलका मदन नेपाली र इटहरीकी वर्षा फुयाल आफ्नो बेजोड कला पस्केर निर्णायकको मन जित्न तम्तयार छन् । यस्तै जुनियरतर्फ बुटवलका रिदेश बस्याल, बुटवलकै अंशिका गुरुङ, कोटिहवा रुपन्देहीका रोहन थापा, धनगढीकी लक्ष्मी साउद, सुर्खेतकी ज्योती काफ्ले, बुटवलकी रियाश्ना दर्लामी, भलबारी रुपन्देहीकी खुशी राना, मुर्गिया रुपन्देहीकी समीक्षा सुनार, पोखराकी मौसमी केसी र दमौलीका तिलक थापामगरले प्रतिस्पर्धा गर्दैछन् । विजेता सिनियर र जुनियर दुबै जनाले दुई–दुई लाख रुपैयांका दरले पुरस्कार पाउनेछ् । क्षमता भएका प्रतिभा नै अगाडि आउन सकुन् भनेर प्रतियोगितामा ‘नो भोट र नो एसएमएस’ प्रावधान राखिएको बागेश्वरी संगीतालयका प्रिन्सिपल सेन्चुरी बताउंछन् ।
प्रतियोगिताको अन्य निर्णायकहरुमा लुइसका सहायक बिजु पार्की, हेमन्त गोर्खा, विकास चञ्चल, अदिति खत्री, जीवन मिश्रा लगायत रहनेछन् । विजेता सिनीयरले ट्यारेन्सको मुम्बईमा रहेको नृत्य प्रशिक्षण स्कुलमा तीन महिना निःशुल्क नृत्य सिक्न छात्रवृत्ति पाउनेछन् ।
दर्शकका लागि १ हजार, ५ सय र ३ सय रुपैयाको टिकट दर तय गरिएको छ । यो प्रतियोगिता सम्पन्न गर्न करिव ५२ लाख खर्च लाग्ने अनुमान गरिएको र बिभिन्न व्यवसायिक प्रतिष्ठान, संघ संस्था ,क्लब तथा व्यक्तिहरुबाट सहयोग जुटाइएको संगीतालयका व्यवस्थापक राजेश विश्वकर्माले बताए ।