
बुटवल, १ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं साँसद चन्द्र भण्डारीले पाँच नम्बर प्रदेश टुक्राउने संशोधन प्रस्ताव फेल भए नेपाल भारत सम्बन्ध अझै सुमधुर र प्रगाढ हुने दावी गर्नुभएको छ ।
उहाँले नेताले ठेक्का लिने प्रबृत्तिका कारण परराष्ट्र नीति अत्यन्तै कमजोर भएका कारण दुई देशबिचको सम्बन्धलाई पनि नेतृत्व तहबाटै आफू अनुकुल बनाउने प्रपन्च भारतले रचेको र अहिले संसदमा रहेको संशोधन प्रस्ताव पनि सोही अनुसार आएको उहाँले बताउनु भयो । यो संशोधन प्रस्ताव फेल गराउन सकिएमात्रै नेताको ठेक्केदारीमा दिल्लीले विश्वास नगर्ने र जनतासंग सबन्ध बढाउन केन्द्रित हुने उहाँले बताउनु भयो । भारतले जनतासंग सम्बध बढाउन चाह्यो भने सिमा स्तम्भ पनि नढल्ने र सिमा पनि नमिचिने बताउँदै त्यतिबेला नेपाल भारत बिचको सम्बन्ध अझै स्वच्छ र स्वस्थ्य हुने जिकिर गर्नुभयो ।
सरकारले पाँच नम्बर प्रदेशमा रहेका पहाडी जिल्लालाई छुट्याउने गरी संशोधन प्रस्ताव संसदमा दर्ता गरेसंगै त्यस बिरुद्ध आन्दोलनमा रहनुभएका नेता भण्डारीसंग नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मुलुकको रक्षा, राष्ट्रियता र अस्मिताकालागि पनि संशोधन प्रस्ताव विफल पार्नुपर्ने भनाई राख्नुभयो । उहाँले भन्नुभयो–‘अहिले गौतम बुद्ध भएको भए पनि खुकुरी लिएर निस्किन्थे होला ।’
फरक प्रसंगमा उहाँले संविधान कार्यान्वयनकालागि जसरी भएपनि सरकारले चुनाव गराउनु पर्ने बताउनु भएको छ । मुलुकको राष्ट्रियताको चिन्ता पहाडी समुदायमा भन्दा तराईका जनतामा बढी भएको बताउँदै उहाँले सिमा सुरक्षामा मधेशी जनतले देखाएको योगदानलाई कम आँक्न नसकिने उल्लेख गर्नुभयो ।
मधेशी जनताले राष्ट्रियता प्रति देखाएको लगावलाई सम्मान गर्न र संविधान कार्यान्वयनकालागि पनि सरकारले जसरी भएपनि चुनाव गराउनु पर्ने बताउनु भयो । ‘मधेशका अधिकांश ठाउँमा काँग्रेस, एमाले र माओवादीले चुनाव जितेका छन् ।’ उहाले भन्नुभयो–‘चुनाव हारेका हृदयेश त्रिपाठीले भन्दैमा चुनाव नहुने भन्ने होईन, चुनाव गर्नुपर्छ ।’ उहाँले अनेक बहानामा नागरिकता बाँड्दै जाने हो भने मुलुकको भविश्य संकटमा पर्ने जिकिर गर्नुभयो ।
९० प्रतिशत जनताले अनुमोदन गरेर संविधान जारी गरिएकाले जसरी पनि संविधान कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै यति ठूलो संख्याले जारी गरेको संविधान कार्यान्वयन गर्न नसक्ने भन्दै नेतृत्वको आलोचना गर्नुभयो । संविधान जारी गर्दाको सहयात्री दल एमालेलाई छाडेर संविधान कार्यान्वयन हुन नसक्ने बताउँदै संविधान कार्यान्वयनकालागि एमालेलाई संगै लिएर हिंड्नु पर्ने भनाई राख्नुभयो ।
त्यस्तै नेपाली काँग्रेसका रोल्पाका सभापति तथा सांसद अमर सिंह पुनले जातका नाममा अनावश्यक प्रोपोगाण्डा नगर्न आग्रह गर्दै पार्टीबाट निश्कासित नै हुनु परेपनि संशोधन प्रस्तावको विपक्षमा रहेको बताउनु भयो । कार्यक्रम युनियन रुपन्देहीका सभापति बिक्रम खड्काको सभापतित्व र सचिव कबिन्द्र नेपालको सञ्चालनमा भएको थियो ।