ग्याँस बिक्रेताको आन्दोलन दोस्रो चरणमा

1.3K

ग्याँस बिक्रेताको आन्दोलन दोस्रो चरणमा

बुटवल, २ माघ । ग्याँस कम्पनीले बिक्रेतालाई दिंदै आएको कमिसन घटाएको बिरोधमा चरणवद्ध आन्दोलन गर्दै आएका ग्याँस बिक्रेताले आज जिल्ला प्रशासन कार्यालय र ग्याँस उद्योगहरुलाई ज्ञापन पत्र बुझाउनुका साथै व्यबसायिक संघ संस्थाहरुलाई आन्दोलनको बारेमा जानकारी गराएका छन् ।

प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा खाईपाई आएको कमिशन नपाउँदासम्म आफूहरुको आन्दोलन जारी रहने उल्लेख गरिएको छ । गत पुसको २० गतेदेखि सुरु भएको शान्तिपुर्ण संघर्षका कार्यक्रम सकिएलगत्तै परिमार्जन सहित दोस्रो चरणको आन्दोलन सुरु गरिएको ग्याँस बिक्रेता संघ रुपन्देहीका अध्यक्ष एवं संघर्ष समितिका संयोजक बसन्त गौचनले बताउनु भयो ।

नेपाल आयल निगमले गत पुसको १९ गतेदेखि लागुहुनेगरी ग्याँसको उपभोक्ता मुल्य निर्धारण गरेपछि उद्योगहरुले बिक्रेतालाई दिँदै आएको कमिशन घटाएका थिए । निगमले ग्यासको उपभोक्ता मुल्यमा घटाएर १ हजार ३ सय ५ रुपैंयाँ कायम गरेको छ । त्यसको बिक्रेताले स्वागत गरेका छन् । तर उद्योगहरुले भने नेपाल आयल निगमले निर्धारण गरेको उपभोक्ता मुल्यमा असन्तुष्टि जनाउँदै बिक्रेतालाई दिँदै आएको कमिसन रकम घटाएका छन् ।

यस अँगाडीसम्म उद्योगले बिक्रेतालाई प्रति सिलिन्डर ५० रुपैंया कमिशन दिंदै आएका थिए । तर नेपाल आयल निगमले उपभोक्ता मुल्य १ हजार ३ सय ५ रुपैंया कायम गरेपछि बिक्रेतालाई दिने कमिसन घटाएर प्रतिशिलिन्डर ३२ रुपैंयामा झारेको ग्याँस बिक्रेता संघ बुटवलका महासचिव नारायण खनालले बताउनु भयो ।

उद्योगीले बिक्रेतालाई दिंदै आएको कमिशन घटाएपछि ग्याँस बिक्रेता संघ रुपन्देहीका अध्यक्ष गौचनको संयोजकत्वमा पाल्पा, कपिलबस्तु र नवलपरासीका व्यबसायी सम्मिलित संघर्ष समिति गठन गरेको थियो । सोही समितिले पहिलो चरणका बिरोधका कार्यक्रम अन्तरगत उद्योगबाट ग्यास नउठाउने तथा बिक्रि वितरण ठप्प पार्दै आएको छ । त्यस्तै उद्योगमा धर्ना पनि दिंदै आएको थियो ।

उद्योगीहरुले एक दिनलाई आन्दोलन रोक्न माग गरेकाले सोमबार आन्दोलनका कार्यक्रम रोकिएको र सोमबार पनि माग पुरा नभए मंगलबारदेखि आन्दोलनलाई सशक्त बनाउने संघर्ष समितिले जनाएको छ । रुपन्देही बाहिरका उद्योगले भने पुरानै सहमति अनुसार कमिसन रकम दिंदै आएको र रुपन्देहीका उद्योगले मात्रै कमिशन घटाउनु पर्ने कारण बुझ्न नसकिएको संघर्ष समितिले जनाएको छ । यदि उद्योगीले खाईपाई आएको कमिशन दिन तयार नभए मंगलबारदेखि नै खाली सिलिन्डर फिर्ता गर्ने तयारीमा बिक्रेता छन् ।

उता उद्योगी बुटवल ग्याँसका प्रोपोराईटर शंकर श्रेष्ठले नेपाल आयल निगमले निर्धारण गरेको कमिशनमा उद्योगले २० रुपैंया थप गरेर दिंदै आएको र अहिले आयल निगमले आफूहरुलाई दिँदै आएको बोटलींङ् रकम घटाएकाले आफूहरुले घाटामा व्यबसाय चलाउनु पर्ने स्थिती आएकाले आफूहरुले थप गरेको पैसा कटौती गर्नु परेको बताउनु भयो ।

उहाँले बिक्रेताले खाईपाई आएको कमिसन पुरानै पाउनकालागि संयुक्त प्रयास गर्न सकिने तर बिक्रेताले माग गरे अनुसार उपलब्ध गराउन नसकिने बताउनु भयो ।