स्वर्ण महोत्सव महायज्ञको लागि प्रचार तिब्र

597

स्वर्ण महोत्सव महायज्ञको लागि प्रचार तिब्र

बुटवल, ३ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ मणिग्राममा रहेको सरस्वती पञ्चायतन मन्दिर वैदिकाश्रममा सञ्चालन गर्न लागिएको स्वर्ण महोत्सव महायज्ञको प्रचार प्रसार तिब्र बनाईएको छ ।

स्वर्णमहोत्सव महायज्ञलाई अपेक्षाकृत रुपमा सफल बनाउनकालागि तिलोत्तमा नगरपालिकाको टोलटोलमा छलफल तथा अन्तरक्रिया गर्ने, पर्चा तथा पम्पलेटहरु वितरण गर्ने, माईकिङ् गर्ने काम भईरहेको महायज्ञका अध्यक्ष नारायण वञ्जाडेले जानकारी दिनुभयो । नियमित रुपमा प्रत्येक वर्ष सञ्चालन गर्दै आएको महायज्ञ ५० वर्ष पुरा भएको अवसरमा यो वर्ष माघको १९ देखि २९ गतेसम्म सर्वपुराण, महोत्सव तथा साङ्ग गायत्री पुरश्चरण धान्याचल महायज्ञ गर्न लागिएको छ ।

महायज्ञको तयारीका अन्यकामहरु पनि नियमित रुपमा भईरहेको र महायज्ञ स्थलमा मण्डप बनाउने काम पनि सुरु भएको सचिव भरत भुसालले बताउनु भयो । सोही महायज्ञको अवसरमा माघकै २७ र २८ गते राष्ट्रिय सन्त विद्वत् सम्मेलन समेत गर्ने तयारी गरिएको छ ।

उक्त सम्मेलनमा नेपाल सहित छिमेकी मुलुकका विद्वान सन्तहरु सहभागि हुने र धार्मिक मार्ग दर्शन निर्माण हुने महायज्ञ अनुगमन तथा निर्देशक समितिका संयोजक रोमणीप्रसाद पाठकले बताउनु भयो । महायज्ञमा १८ पुराँण, रामायण, महाभारतको पारायण, साङ्ग गायत्री पुनश्चरण र विशिष्ट धनधान्याचल ज्ञान महायज्ञका प्रमुख संरक्षक हरिहर सन्यास आश्रम देवघाटका पिठाधिस सन्तशिरोमणी श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजद्वारा श्रीमद्भागवतको एकादशस्कन्धमा आधारित दार्शनिक प्रवचन हुनेछ ।

त्यस्तै सन्तहरुबाट पुराण, उपनिषद् र वेदान्तमा आधारित दार्शनिक प्रवद्धनहरु हुने छन् । त्यसैगरी पं. नारायणप्रसाद न्यौपानेले श्रीमद्देवी भागवतमा आधारित संगितमण कथा प्रवचन गर्नुहुनेछ ।