देवदहमा तेस्रो औद्योगिक व्यापार मेला

1.3K

देवदहमा तेस्रो औद्योगिक व्यापार मेला

बुटवल, ४ माघ । देवदह व्यापार संघको आयोजनामा यही माघ १३ गते देखि तेस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सव २०७३ हुने भएको छ । औद्योगीकरण, व्यापार विविधीकरण, पर्यटन प्रवद्र्धन एवं व्यावसायिक कृषि नै समृद्ध राष्ट्रको आधार भन्ने नाराका साथ माघ २४ गते सम्म तेस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सव हुदैछ ।

देवदह–१०, बुद्धनगर देवदह मण्डपमा हुने मेलामा कृषि उपज, दुग्धजन्य, कृषि औजार, जडिबुटी, छाला, सूचना प्रविधी लगायतका स्टल प्रदर्शनमा राखिने आज प्रदर्शनी स्थल देवदह मण्डपमा पत्रकार सम्मेलन गरी व्यापार मेलाको वारेमा जानकारी गराइएको छ । मेलामा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको लागि अन्तर विद्यालय सूचना प्रविधी प्रतियोगिता, विज्ञान प्रदर्शनी हुनेछन् ।

मेला मुल आयोजक समिति अध्यक्ष कोशबहादुर गुरुङ्गले दुई लाख पचास हजार दर्शकले अवलोकन गरी तीन करोड कारोवार गर्ने लक्ष्य लिएको जानकारी गराउनुभयो । मेलामा प्रवेश शुल्क ४०, विद्यार्थीको लागि ३० र सामुहिक २५ जना भन्दा बढी संघ÷संस्थाबाट अवलोकन गर्न आउनेलाई २० रुपैयाको टिकट व्यवस्था रहेको बताइएको छ ।

मेलालाई अपाङ्गमैत्री बनाउने प्रयास भएको अध्यक्ष गुरुङ्गले जानकारी दिनुभयो । अपाङ्गलाई उनीहरुको क्षमताको आधारमा रोजगारी संगै प्रवेश शुल्क निःशुल्क र उनीहरुलाई मेला स्टल अवलोकन गराउन स्वयं सेवकको व्यवस्था गर्न लागिएको बताइएको छ । आयोजकले मेला स्थललाई प्लाष्टिक थैली मुक्त बनाउने प्रयास गरिएको बताएका छन् ।

मेलामा दुर्गा तिवारी स्मृति नकआउट भलिवल प्रतियोगिता, डान्स तथा सिंगिङ्ग प्रतियोगिता, हास्य व्यङग्य प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य, लोकगीत लगायतका प्रतियोगिता हुनेछन् । मेलामा देवदह क्षेत्रको ऐतिहासिक स्थल अवलोकनको व्यवस्था समेत गरिएको प्रचार प्रसार संयोजक यम रानाले जानकारी दिनुभयो ।

कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष मोतिलाल पाण्डेले देवदह क्षेत्रमा प्रशस्त जग्गा रहेकोले औद्योगिक, व्यापारिक, पर्यटन संभावना बोकेको हुदा मेलाले देवदह क्षेत्रको समग्र विकासमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।