
प्रविण गाहा/
बुटवल, ४ माघ । बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा भिरबाट खस्ने ढुंगा रोक्न नमुना प्रबिधी जडान सुरु भएको छ । परीक्षणको रुपमा माथिल्लो सिद्धबाबा र दोभान विचको वारम्वार ढुंगा खस्ने क्षेत्रमा रक नेट(जाली) प्रविधी जडान प्रक्रिया सुरु भएको छ ।
प्रति घण्टा एक सय कि.मी.को गतिमा आएको दुई टनको ढुंगा रोक्ने प्रविधी जडान सुरु गरिएको भुगर्भविद् एवं त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक ईन्जिनियर डा. रञ्जन दाहालले जानकारी दिनुभयो । गत वर्ष वर्षायाममा पहिरोले बस तिनाउ नदीमा पु¥याएको क्षेत्रमा उक्त एक हजार किलो जुल रहेको ओमेगा नेट जडान कार्य जारी रहेको आज बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो ।
उक्त नेट एक सय २० वर्ग मिटरमा चार मिटर उचाई र २७ मिटर चौडाईमा फैलिनेछ । उक्त जाली अड्याउनको लागि ड्रिलिङ्ग मेसिनले चार देखि आठ मिटर सम्म प्वाल बनाउने काम भैरहेको बताइएको छ । मंसिर देखि सुरु गरिएको उक्त काम सक्ने अवधी फागुन सम्म भएपनि अवको २५/३० दिनमा सकिने भुर्गभविद् दाहालको भनाई छ ।
सुरुमा ५२ लाख लागत लाग्ने अनुमान गरिएपनि कलकत्तामा सामानको डेमरेज शुल्क(विलम्व शुल्क) तिनुपर्दा लागत ६० लाख पुग्ने आकलन गरिएको छ । उक्त सामान कलकत्ता सम्म निःशुल्क उपलब्ध भएको र त्यहाबाट नेपाल सम्म ल्याउदाको ढुवानी खर्च लागेको बताइएको छ । उक्त प्रविधी जियोटेक सोलुसन इन्टरनेशनल इन्जिनियरिंग कम्पनीले जडान गरिरहेको छ ।
अष्ट्रियाको एक कम्पनीले उपलब्ध गराएको सामानको नेपाल सरकारले भन्सार छुट दिएको थियो । यसको ढुवानी, जडान लगायतका खर्च जियोटेकले बेर्होर्ने भुगर्भविद् दाहालले जानकारी दिनुभयो । यसको टिकाउ अवधी ५० वर्ष रहेको अर्का इन्जिनियर सुनिल पौडेलले जानकारी गराउनुभयो ।
जालीमा आएको ढुंगा जाली काटेर अथवा त्यसलाई सानो सानो टुक्रा पारेर फाल्न सकिने जनाइएको छ । विश्वका अधिकत्तम देशमा यस्ता प्रविधी सफल प्रयोग हुदै आएको भुगर्भविद् दाहालले जानकारी दिनुभयो ।
सुरक्षित यात्रा अभियान नेपालका अध्यक्ष नारायण अधिकारीको अध्यक्षता महासचिव दिनेश पाण्डेको संचालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष शेरबहादुर केसी लगायतले सिद्धबाबा क्षेत्रमा वर्षेनी जनधनको क्षती रोक्न स्थायी समाधानको बाटो खोज्नुपर्नेमा जोड दिनु भएको थियो ।