बुटवल/ एकीकृत नेकपा माओवादीका तर्फबाट सरकारको नेतृत्व टोपबहादुर रायमाझीले गर्ने भएका छन् । तर, उपप्रधानमन्त्रीको जिम्मेवारी पाउने भए पनि रायमाझीले गृह मन्त्रालयको जिम्मेवारी नपाउने भएका छन् ।‘टोपबहादुरजीले उपप्रधानमन्त्रीसहित पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ,’ एमाओवादीका एक स्थायी कमिटी सदस्यले भने- ‘गृहमन्त्रीमा शक्ति बस्नेत र जनार्दन शर्माको नाम आए पनि टुंगो लागिसकेको छैन ।’कुल ८ वटा मन्त्रालय पाउने एमाओवादीले यसअघि नै हरिबोल गजुरेललाई कृषि मन्त्री बनाइसकेको छ । त्यस्तै शिक्षामा पूर्वशिक्षक समेत रहेका सांसद अग्नि सापकोटालाई पठाउने एमाओवादीको तयारी रहेको छ ।यसैवीच एमाओवादी अध्यक्ष प्रचण्डले सरकारमा पठाउने मन्त्रीहरुका विषयमा शनिबार प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका छन् ।
पार्टी महासचिव कृष्णबहादुर महराको नाम गृहमन्त्रीका रुपमा चर्चामा आए पनि उनी सरकारमा नजाने भएका छन् । यसैगरीराष्ट्रपति र उपराष्ट्रपति चुनावअघि मन्त्रिपरिषदले पूर्णता नपाउने भएको छ । यसबीचमा प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बिस्तार भने गर्नेछन् ।‘यसबीचमा आवश्यकता अनुसार प्रधानमन्त्रीले केही मन्त्री थप्न सक्नुहुन्छ तर सरकारले पूर्णता चाहिँ राष्ट्रपति चुनावपछि मात्रै पाउछ’ एमाले केन्द्रीय कार्यालयका सचिव कृष्ण गोपाल श्रेष्ठले भने ।राष्ट्रपति उपराष्ट्रपतिको चुनाव कात्तिक १० गतेभित्र हुनेछ । यसबीचमा मन्त्रालय बाँडफाँड र न्युनतम साझा कार्यक्रम तय गर्न छलफल शुरु भएको श्रेष्ठले बताए ।सत्ता साझेदार दलहरुबीच मन्त्रालय बाँडफाँड नटुंगिएको,दलहरुभित्र मन्त्री छान्ने प्रक्रिया कठिन भएको र कुन कुन साना दललाई मन्त्री दिने भन्ने समेत टुंगो नलागेका कारण सरकारले दसैंंअघि पूर्णता नपाउने भएको हो
जम्मा २६ मन्त्रालयमध्ये राप्रपा नेपाल र फोरम लोकतान्त्रिकले तीन तीन मन्त्रालय पाउने लगभग टुंगो लागेको छ । तर राप्रपाले समेत २ मन्त्रालय मागेपछि प्रधानमन्त्री अप्ठेरोमा परेका छन् ।१४ सांसद भएको फोरम लोकतान्त्रिकले ३ मन्त्रालय पाउने हो भने १२ सांसद रहेको राप्रपाले पनि दुई मन्त्रालय पाउनुपर्ने दावी प्रधानमन्त्री समक्ष राखेको छ । फोरम लोकतान्त्रिकलाई दुई मन्त्रालय मात्र दिन प्रधानमन्त्रीमाथि दबाब छ ।त्यस्तै एमाओवादीले ८ मन्त्रालय दावी गरेको छ । तर सभामुख समेत पाइसकेका कारण एमाओवादीलाई बढिमा ७ मन्त्रालय दिने सम्भावना रहेको स्रोतले जनाएको छ । एमालेले एमाओवादीलाई ६ मन्त्रालय लिन आग्रह गरेको छ ।एमालेले बढिमा १० मन्त्रालय पाउनेछ भने अन्य साना दललाई तीनओटासम्म मन्त्रालय छुट्याउने तयारी रहेको एमाले केन्द्रीय कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए ।यस्तैझापा क्रान्तिका बेला केपी ओलीको समेत नेता रहेका सीपी मैनालीले आफ्ना सहयोद्धाको क्याबिनेटमा उपप्रधानमन्त्री दावी गरेका छन् ।
‘उपपधानमन्त्री पाए सीपी कमरेड मन्त्री हुने चाहना छ’ एमाले सचिव श्रेष्ठले भने ।उप नपाए पनि पाँच सांसद रहेको मालेले एक मन्त्री पाउनेछ । त्यस्तै तीन सांसद रहेको नेकपा संयुक्तले पनि एक मन्त्री दावी गरेको छ ।
यस्तैसंसदीय राजनीतिमा सहभागी भए पनि कहिल्यै सरकारमा सहभागी नभएका नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चा हुन् ।तर यसपटक नेकपा मसालको बैधानिक मोर्चा राष्ट्रिय जनमोर्चामा पनि सरकारमा जान खोजेको छ । यद्यपी निर्णय भइ नसकेको सांसद दुर्गा पौडेलले बताइन् ।यसैगरीओली सरकारमा मन्त्री हुनका लागि बहुजन शक्ति पार्टीका सांसद विश्वेन्द्र पासवानले भएभरको शक्ति लगाइसकेका छन् । उनी दलित तथा मधेशी भएका कारण र दुई पटक सांसद समेत भएकाले यसपटक मन्त्री बनाइदिन आग्रह गरिरहेका छन् ।मधेस समता पार्टीका मेघराज नेपाली निषाधलाई ओलीले राज्यमन्त्री बनाइसकेका छन् । त्यस्तै दुई सांसद रहेका परिवार दल र जनमुक्ति पार्टीले पनि मन्त्री दावी गरेका छन् ।जनमुक्ति पार्टीका सांसद शिवलाल थापाले भने-हामीले मन्त्री देऊ भनेर प्रधानमन्त्रीलाई हुलहुज्जत गरेका छैनौं तर उहाँहरुले आवश्यकता ठानेर बोलाएमा जान तयार छौं ।