भट्टराई सर्वपक्षीय भेलाका लागी विराटनगरमा

554

भट्टराई सर्वपक्षीय भेलाका लागी विराटनगरमा

baburamkkkkkkkkkk विराटनगर/संविधान निर्माण प्रक्रिया सम्पन्न भएपछि सांसद् पद र एमाओवादी त्यागेर नयाँ शक्ति निर्माणमा जुटेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई शनिबार बिहान विराटनगर आइपुगेका छन्। नयाँ शक्ति निर्माण र अहिले विकसित राजनीतिक घटनाक्रमका विषयमा पूर्वक्षेत्रका व्यक्तिहरूसँग भट्टराईले भेटघाट गर्ने कार्यक्रम छ।

भारतीय पक्षबाट भएको नाकाबन्दी, मधेस आन्दोलनको यथोचित सम्बोधन तथा उनी आफूले चलाएको नयाँ शक्तिबारे भट्टराई राय बुझ्नेछन्। एयरपोर्टस्थित होटल एशियाटिकमा भट्टराई विहान १० बजेदेखि भेटघाटमा जुटेका छन्।

भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार भट्टराईले बुद्धिजीवीसँग पहिलो चरणको भेट गरिसकेका छन्। दोस्रो चरणको भेट उद्योगी व्यापारी, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तासँग हुने पाण्डेले जानकारी दिए।

‘एमाले, कांग्रेस, एमाओवादीलगायत उपलब्ध सबै पार्टीका मान्छेको उपस्थिति छ,’ पाण्डेले भने, ‘विद्यमान राजनीतिक विषयमा केन्द्रित रहेर छलफल हुने छ।’

पाण्डेका अनुसार नयाँ संविधानको कार्यभार पूरा भइसकेकाले अब समाजवादी आर्थिक क्रान्तिको बाटोतिर कसरी जाने भन्ने विषयमा भट्टराईले सुझाव लिनेछन्। ‘मधेसमा भइरहेको आन्दोलनको निकासको सन्दर्भमा पनि छलफल हुनेछ,’ पाण्डेले भने।