टिआर शर्मा/
बुटवल, ७ माघ । भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रशारण हुने लोकप्रिय डान्स रियालिटी शो ‘झलक दिखला जा’ को उपाधि तेरिया फौजा मगरले जितेकी छन् । नतिजाको औपचारिक घोषणा भने भोलि शनिबार राति १० बजेपछि सार्वजनिक हुने छ । फाइनलमा पुगेकी तेरियाले डिआईडी सिजन १ एवं ‘झलक दिखला जा’ कै पुर्व विजेता सलमान युसुफ खान र वल्र्ड हिपहप च्याम्पियनसीपका विजेता शान्तनु माहेश्वरीलाई दर्शक भोटका आधारमा पछि पार्दै उपाधि जित्न सफल भएकी हुन् । सेमिफाइनलपछि नतिजाका लागि जनवरी १४ ताखिदेखि एसएमएस र अनलाइन भोटिङ खुल्ला गरिएको थियो । तेरियाले यसअघि सन् २०१४ मा डिआईडी लिटिल मास्टर्समा जस्तै अन्य प्रतिस्पर्धी भन्दा बढी मत लिएर भारतीय भूमिमा यसपटक पनि उपाधिमाथि कब्जा जमाउन सफल भइन् । ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसनले संचालन गरेको यो प्रतियोगिता भारतमा डिआईडी भन्दा पनि ठूलो र प्रतिष्ठित मानिन्छ । उपाधि जितेसंगै तेरियाले नगद भारु. ३० लाख र रिनल्ट डस्टर ब्राण्डको कार प्राप्त गर्नेछिन् । गत जुलाईमा शुरु भएको यो प्रतियोगितामा शुरुमा १२ जोडी (पुरुष र महिला) डान्स सेलिब्रेटी छनोट भएर प्रतिस्पर्धामा थिए ।
तेरिया अक्टुबर ८ तारिखमा जुनियर ‘च्यालेन्जर’को रुपमा प्रवेश गरेकी थिइन् । तेरिया फाइनलमा पुगेपछि उनलाई एसएमएस र अनलाइन भोटिङ गरेर जिताउन तेरिया मगर फाउण्डेसन लगायतका संघसंस्थाले अभियान चलाएका थिए । सन् २०१४ मा भारतीय च्यानल जी टिभीबाट प्रशारण हुने डान्स इण्डिया डान्स (डिआईडी ) लिटिल मास्टर्र्स प्रतियोगितामा ४० हजार भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै तेरियाले उपाधि जित्न सफल भएकी थिइन् ।
आफू भन्दा धेरै सिनियर र मुम्बईका डान्सर हस्तीसंग प्रतिस्पर्धा गर्नुपरे पनि १४ वर्षिया तेरियाले आफ्नो दृढ आत्मविश्वास र विलक्षण कला क्षमताका कारण भारतीय निर्णायकको समेत मन जितेर सर्वाधिक अंक सहित फाइनलमा पुग्न सफल भएकी थिइन् । तेरियाले सबैभन्दा बढी मत पाएर उपाधि जितेको खबर पाएका तेरियाका हजुरबुबा कृष्णबहादुर फौजाले रुद्रपुरबाट टेलिफोन कुराकानीमा भने–‘तेरियाले जित्ने आशा थियो,आखिर जितेरै छाडी ।’
तेरियाको जितमा नेपाली सञ्चारमाध्यम,पत्रकार र उनलाई भोट दिने संसारभर रहेका नेपालीलाई तेरियाका हजुरबाले धन्यवाद दिए । तेरिया डिआईडी लिटिल मास्टरको उपाधीमा भाग लिनु अघि बुटवलको बागेश्वरी संगितालयमा नृत्य विद्याकी प्रशिक्षार्थी थिइन् ।