
बुटवल, ८ माघ । बुटवल १५ बेलबासमा रहेको कर्सो नेपाल (कपिलबस्तु–रुपन्देही सामाजिक संस्था)ले धुर्मुस–सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिबास स्थित मुसहर बस्तीमा निर्माण गर्न लागेको एकिकृत बस्तीमा एक दिनको श्रमदान सहित आर्थिक सहायता प्रदान गरेको छ ।
कर्सोका पदाधिकारी सहित सदस्यहरु ४० जनाको टोलीले उक्त मुसहर एकिकृत बस्तीमा शनिबार एक दिन श्रमदान सहित ११ हजार १ सय ११ रुपैंयाँ आर्थिक सहायता प्रदान गरेको हो । उक्त रकम बराबरको चेक कर्सो नेपालका अध्यक्ष खिमानन्द पौडेलले धुर्मुस–सुन्तली फाउण्डेसनका संयोजक अर्जुन न्यौपानेलाई हस्तान्तरण गर्नुभयो ।

धुर्मुस–सुन्तली फाउण्डेसनले उक्त मुसहर बस्तीमा स्वागत द्वार, चिल्ड्रेन पार्क, मन्दिर, सामुदायिक भवन, अनौपचारिक वालशिक्षालय तथा बाटो र नाली सहित ५० आवाशीय घर निर्माण गर्दैछ ।
यस अँगाडी गिरानचौर एकिकृत बस्ति निर्माण गर्दा एक करोड तीन लाख रुपैंया बचेको र सो रकम सहित मुसहर एकिकृत बस्ती निर्माण गर्न ४ करोड ७८ लाख रुपैंया लाग्ने अनुमान गरिएको फाउण्डेसनका संयोजक न्यौपानेले बताउनु भयो । उहाँका अनुसार एउटा मात्रै घर निर्माण गर्न ८ लाख रुपैंयाँ लाग्छ ।

भूकम्पबाट पूर्ण रुपमा प्रभावित उक्त बस्ती निर्माणको काममा सहयोग गरेर मानवीय सहायता प्रदान गर्नकालागि एक दिन भएपनि श्रमदान गरौैं भन्ने हेतुले आफूहरु गएको कर्सोका अध्यक्ष पौडेलले बताउनु भयो । कर्सो नेपालले सामाजिक काम गर्नकालागि स्रोत साधनको खोजी गरेर तथा आफै जुटाएर बिभिन्न किसिमबाट सामाजिक काम गर्दै आएको सचिव शिवलाल उपाध्यायले बताउनु भयो ।