
बुटवल, ८ माघ । पश्चिमाञ्चल यातायात स्वतन्त्र कर्मचारी युनियनको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन आज बुटवलमा सम्पन्न भएको छ ।
साधारण सभाले कर्मचारीको दुर्घटना बिमामा थप दश लाख थप गर्ने निर्णय अनुमोदन गरेको छ । यस अंगाडी कर्मचारी युनियनको पहलमा कर्मचारी दुर्घटना बिमा समितिले पाँच लाखबाट १० लाख पु¥याएको थियो । युनियनको कार्यसमितिको बैठकले १० लाख थप गर्ने निर्णय गरेको थियो ।
साधारण सभामा युनियनका अध्यक्ष प्रकाश गैरेले युनियनले दिँदै आएको आर्थिक सापटी रकमलाई १० हजारबाट बढाएर २० हजार बनाएको र कम्तिमा तीन वर्ष समितिमा काम गरि अवकास लिएका कर्मचारीले स्वच्छिक अवकास लिएमा दश हजार रुपैंया नगद सहित विदाई गर्दै आएको जानकारी गराउनु भयो । यसले कर्मचारी आफ्ना हक हित मात्रै नभएर समितिले गर्नुपर्ने काममा पनि कर्मचारी युनियनले अग्रसरता देखाएको उहाँको भनाई छ ।
युनियनका सदस्यको एकाघरको सदस्यको निधन भएमा ४४ हजार ८ सय रुपैंया प्रदान गर्दै आएको र यो समय सापेक्ष बढ्दै जाने उहाँले बताउनु भयो । त्यस्तै स्वयम कर्मचारीको निधन भएमा उसको परिवारलाई तलवको १० प्रतिशत रकम दिने कामलाई निरन्तरता दिंदै आएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । उक्त १० प्रतिशत रकम कम्तिमा दुईलाख हुने बताईएको छ ।
वषौं देखि संशोधन हुन नसकेको कर्मचारी प्रशासन नियमावली संशोधन गराउन सफल भएको र त्यसले कर्मचारीको अधिकाँश मागलाई सम्बोधन गरेको अध्यक्ष गैरेले बताउनु भयो । साधारण सभामा बोल्दै पश्चिमाञ्चल यातायात व्यबसायि समितिका अध्यक्ष टिकाराम गौतमले आफ्ना कर्मचारीलाई समयअनुसार सेवा सुविधा बृद्धि गर्ने तथा उनीहरुको हकाधिकारमा संघ सधै तत्पर रहेको बताउनु भयो ।
उहाँले राम्रा काम गर्ने कर्मचारीलाई सम्मान गर्ने र गलत काम गर्नेलाई कारवाही गर्न संघ लागेकाले त्यसमा सहयोग गर्न कर्मचारी युनियनलाई आग्रह गर्नुभयो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष लोकराज पोखरेल, नेपाल यातायात कर्मचारी महासंघका महासचिव बाबुराम अधिकारी, संघका वरिष्ठ उपाध्यक्ष यमप्रसाद पाण्डे, पश्चिम नेपाल बस व्यबसायी संघ कर्मचारी युनियनका सचिव होमनाथ भट्टराई लगायतले भनाई राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन सचिव हिम्मत आचार्य र स्वागत सहसचिव शिव केसीले गर्नुभएको थियो । अधिवेशनले दुई वर्षे कार्यकालकालागि टोपलाल घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले समितिको प्रथम उपाध्यक्षमा शिव केसी, द्वितीय उपाध्यक्षमा राजन जिसी, सचिवमा हिम्मत आचार्य, सहसचिवमा रजनी केसी र कोषाध्यक्षमा रामप्रसाद गौतम सहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।